रविसहित २० जना संगठित अपराध उन्मुक्त, न्यायाधिवक्तामाथि छानबिन गर्न समिति गठन
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित २० जनालाई संगठित अपराध अभियोजनमा मुक्त गरिएको भन्दै चितवनका तत्कालीन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन हुने भएको छ ।
सहमहान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा गठित ४ सदस्यीय समितिले उनीमाथि छानबिन गर्ने भएको हो ।
उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेको समितिलाई तत्काल प्रतिवेदन पेस गर्न महान्यायाधिवक्ता रमेश बडालले निर्देशन पनि दिएका छन् ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत ठगीका अभियुक्त ३२ जनामध्ये १२ जनालाई संगठित अपराध र ठगी दुवै कसुरमा मुद्दा दायर गरिए पनि लामिछानेसहित २० जनाविरुद्ध सहकारी ठगीको मुद्दा मात्र दर्ता गराएकोमा लुइँटेललाई कारबाहीस्वरूप सरुवा गरेर केन्द्रीय कार्यालय बोलाइएको छ ।
सहमहान्यायाधिवक्ता दाहालले लामिछानेलाई संगठित अपराधको कसुरमा उन्मुक्ति दिएको विषयमा छानबिन गरिने बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस