९२२ किलोभन्दा बढी गाँजासहित १ जना पक्राउ ३ फरार
काठमाडौं । देशका विभिन्न स्थानबाट नौ सय २२ किलोभन्दा बढी गाँजा प्रहरीले बरामद गरेको छ ।
गाँजासहित एक जनालाई पक्राउ गरेको र दुई जना हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लाको भंगाहा नगरपालिका–६ मजरास्थित सडकबाट ६ सय किलो गाँजासहित उदयपुर कटारी नगरपालिका–१ बस्ने २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई हिजो (बिहीबार) राति प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट जमुनियाबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको ४० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक गणेशलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै सुनसरीको इटहरीबाट करिब २ सय ७६ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । इटहरी उपमहानगरपालिका–१७ कान्छी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ३० किलो १ सय ५० ग्राम बिहीबार साँझ प्रहरीले बरामद गरेको हो ।
उक्त स्थानमा खटिएको प्रहरीले चतराबाट ईटहरीतर्फ जाँदै गरेको बा. २ च ३४६५ नम्बरको गाडीलाई रोक्न खोज्दा चालक फरार भएपछि गाडी तलासी गर्दा प्लाष्टिकले बेरिएको ८ वटा पोकाबाट उक्त परिमाणको पदार्थ फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–३ जमुवा बोर्डर छेउस्थित खेतबाट अवैध लागूऔषध गाँजा करिब ४६ किलो ५ सय ५० ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका २ जना व्यक्तिहरूले बोरा फाली फरार भएपछि बोरा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस