Techie IT
२०८२ वैशाख २१, आइतबार

गाउँबस्तीमै रमाउन थाले जङ्गली वन्यजन्तु, किसान चिन्तित


महत्त्वपूर्ण वन्यजन्तुहरू गाउँबस्तीमै स्थायी रूपमा बस्न थालेपछि महोत्तरीका किसानलाई चिन्ता थपिएको छ । पछिल्लो एक दशकमा विशेषगरी बँदेल र नीलगाईको सङ्ख्या गाउँबस्ती आसपास उल्लेख्य रूपमा बढेको छ ।

जलेश्वर–५ चौरिया बस्तीका ७५ वर्षीय रहिमन मण्डलका अनुसार दशगजा क्षेत्रमा रहेका झाडीहरूमा बँदेलको तीनदेखि चार पुस्तासम्म देख्न सकिन्छ । "हामीले लगाएका बालीहरू नै यिनको आहारा बनेका छन्," मण्डलले भने ।

खैरवनीका स्थानीय कौशीलाल यादवका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा काँसका झाडीहरूमा बँदेल बाक्लै देखिन्छन् । सीमापारका भारतीय बस्तीमा पनि यिनको सङ्ख्या बढ्दो छ ।

भङ्गाहा नगरपालिकाका सामाजिक कार्यकर्ता मुकुन्द दाहाल भन्छन्, "बँदेलहरू उखु नकाटिउन्जेल त्यसैको घारीमा बस्छन् । काटिसकेपछि अर्को ठाउँ सर्छन् ।" दाहालका अनुसार घाँसपात गर्न, खेतबारी हेर्न निस्कन समेत डराउनुपर्ने अवस्था छ बँदेलसँगै नीलगाई पनि बस्तीमा देखिन थालेको छ। औरही नगरपालिका–४ बैरियाका रामस्नेही यादवका अनुसार नीलगाई कहिलेकाहीँ वनतिर फर्कने गरेका छन् भने बँदेल स्थायी रूपमा बस्न थालेका छन् ।

त्यस्तै, दुम्सीहरू पनि काँस र उखुघारीमा बाक्लै देखिन थालेको किसानहरूको भनाइ छ ।

बँदेल र नीलगाईले बाली नष्ट गरिरहँदा किसानहरू स्थानीय तह, प्रहरी र प्रशासनसँग गुहार गरिरहेका छन् । "तर कुनै ठोस उपाय खोजिएको छैन," बलवा नगरपालिकाका मन्सुल कवारीले गुनासो गरे ।

कृषिविज्ञ रामबहादुर भुजेलका अनुसार वन क्षेत्रमा मानवीय चहलपहल, सिकारीको आक्रमण र पानी–आहाराको कमीका कारण वन्यजन्तु गाउँबस्तीतिर बसोबास गर्न थालेका हुन् ।

अब स्थानीय तहहरूले वन्यजन्तु नियन्त्रणको लागि प्रभावकारी योजना बनाउनु पर्ने किसानहरूको जोड छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट