नेपालको विश्वकप यात्रा जटिल बन्दै, लगातार हारेको हार्यै
आइसीसी विश्वकप लिग–२ मा नेपालको यात्रा क्रमशः जटिल र चुनौतिपूर्ण बन्दै गएको छ। हाल यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा लगातार तीन खेलमा पराजित भएपछि नेपाल थप दबाबमा परेको छ।
नेपालले अमेरिकासँग दुई खेल र आयोजक यूएईसँग एक खेलमा हार बेहोरेको हो। अहिले अंकतालिकामा नेपाल र यूएई तल्लो स्थानमा छन् भने अमेरिका शीर्ष स्थानमा उक्लिएको छ। श्रृंखलाको अन्तिम खेलमा नेपाल भोलि यूएईविरुद्ध मैदानमा उत्रिँदै सान्त्वना जितका लागि संघर्ष गर्नेछ।
पहिला तीनै खेलमा नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन। पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनले पराजित गरेको थियो। दोस्रो खेलमा यूएईले ५ विकेटले जित्यो। अमेरिकाविरुद्धको तेस्रो खेल केही हदसम्म प्रतिस्पर्धात्मक भए पनि फिल्डिङ त्रुटिका कारण नेपाल ४ विकेटले पराजित भयो।
व्यक्तिगत प्रदर्शनतर्फ कप्तान रोहितकुमार पौडेल, ओपनर कुशल भुर्तेल, आरिफ शेख र मध्यक्रमका दिपेन्द्रसिंह ऐरी लयमा देखिएका छन्। तेस्रो खेलमा आठौं नम्बरमा आएर करण केसीले पनि उत्कृष्ट प्रदर्शन गरे। भीम सार्की र आरिफ शेखको प्रदर्शन औसत रह्यो भने सबैभन्दा आशा गरिएका गुलशन झाले भने निराश तुल्याइरहेका छन्।
बलिङतर्फ सन्दीप लामिछाने उत्कृष्ट फर्ममा छन्। उनले तीन खेलमा सात विकेट लिएका छन्। तर अन्य बलरहरूको प्रदर्शनमा स्थिरता देखिएको छैन। विशेष गरी फास्ट बलरहरूले विकेट लिन सकेका छैनन् र महँगा पनि साबित भइरहेका छन्। स्पिनर ललितनारायण राजवंशीले पनि तीन खेलमा कुनै विकेट लिन सकेका छैनन्।
यदि नेपाल भोलि यूएईसँग पराजित भयो भने दुवै टिमको जित संख्या बराबर हुनेछ। अहिले नेपालले १९ खेलमा ५ जितका साथ १२ अंक बटुलेको छ, जबकि यूएईले १९ खेलमा ४ जितसहित ८ अंकमा सीमित छ। भोलिको खेलको नतिजाले अंकतालिकामा ठूला फेरबदल ल्याउने छैन, तर विजेता टिमका लागि २ अंक आगामी यात्रामा महत्वपूर्ण बन्न सक्छ।
लिग–२ अन्तर्गत प्रत्येक टिमले ३६ खेल खेल्नेछ, जसमा ३ वटा घरेलु त्रिकोणात्मक श्रृंखला पर्छन्। नेपालले आधाभन्दा बढी खेल सकेकाले अब बाँकी १७ खेलमा उत्कृष्ट कमब्याक गर्नुपर्नेछ। अघिल्लो संस्करणमा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै एक दिवसीय मान्यता जोगाएको थियो, यही उपलब्धिबाट अहिले पनि प्रेरणा लिन सकिन्छ।
लिग–२ का शीर्ष चार टोलीले एक दिवसीय मान्यता कायम राख्नेछन् र विश्वकप क्वालिफायरमा पनि स्थान पाउनेछन्। नेपालका लागि यो न्यूनतम लक्ष्य हो। तल्लो चार टोलीले भने विश्वकप क्वालिफायर प्ले–अफ खेल्नुपर्नेछ, जहाँ उनीहरूसँगै च्यालेन्ज लिगका शीर्ष चार टोली सहभागी हुनेछन्। यो च्यालेन्ज लिग अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको तेस्रो तह हो।
प्ले–अफमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले पुनः क्वालिफायरमार्फत विश्वकपमा स्थान बनाउन सक्छ, तर कमजोर प्रदर्शनले लिग–२ बाट घटुवा भएर च्यालेन्ज लिगमा झर्ने जोखिम रहन्छ। अघिल्लो संस्करणमा यही दुर्भाग्य पपुआ न्यूगिनीले भोगेको थियो — लिग–२ र प्ले–अफ दुवैमा अन्तिम हुँदै उसले एकदिवसीय मान्यता गुमाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस