Techie IT
२०८२ कार्तिक १९, बुधबार

रामकुमारी झाँक्री लगायत असन्तुष्ट नेताहरु विनाशर्त एमालेमा फर्किँदै

जनप्रतिनिधिहरूको पद एमालेमा गएपछि कायमै रहने वा नहुने भन्ने विषयमा कानुनी परामर्श भइरहेको छ..


रामकुमारी झाक्री

नेकपा (एकीकृत समाजवादी) भित्रका असन्तुष्ट नेता रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरू विनाशर्त एमाले फर्किने भएका छन्। उनीहरूले यसका लागि बुधबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट नेताहरुलाई गोलबद्ध हुन र एमालेमा फर्किन आह्वान गर्ने तयारी गरेका छन्।

बुधबार दिउँसो माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलबीच पार्टी एकताको औपचारिक घोषणा गर्न राष्ट्रिय सम्मेलन हुँदैछ। सो सम्मेलनअघि नै झाँक्री–श्रेष्ठ समूहले एमाले फर्कने घोषणा गर्ने योजना बनाएको छ।

‘हामी निशर्त एमाले फर्किन लागेका छौं,’ निवर्तमान सांसद किसान श्रेष्ठले भने, ‘देशभरका नेता–कार्यकर्तालाई गोलबद्ध गरेर केही दिनभित्र औपचारिक रूपमा एमाले प्रवेश गर्नेछौं।’

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना र अर्जुन राईलगायत नेताहरू एमाले फर्कने तयारीमा छन्। श्रेष्ठका अनुसार, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि एमाले फर्किने सम्भावना बलियो बनेको छ। खनालले बुधबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

‘खनालज्यूको पनि कुरा भइरहेको छ, कुरा मिल्यो भने उहाँसहित नै हामी एमाले जान सक्छौं,’ श्रेष्ठले भने । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार ओली र खनालबीच भएको वार्ता सकारात्मक बनेको छ।

खनालले पछिल्ला दिनमा नेता घनश्याम भूसाल, विप्लव र जनार्दन शर्मासँग मोर्चाबन्दीको तयारी थालेपछि ओलीसँगको संवादलाई अन्तिम निर्णयतर्फ लैजाने प्रयास भइरहेको बताइन्छ।

श्रेष्ठका अनुसार, ‘अध्यक्ष भइसकेको नेताले सम्मानजनक भूमिका पाउने हो भने ठूलो समूह उहाँकै नेतृत्वमा एमाले फर्किने सम्भावना छ।’

यसबीच, असन्तुष्ट समूहमा रहेका राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूको पद एमालेमा गएपछि कायमै रहने वा नहुने भन्ने विषयमा कानुनी परामर्श भइरहेको समेत श्रेष्ठले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट