आजको राशिफल (माघ ३० गते)

आज विक्रम संवत २०८१ साल माघ ३० गते, बुधबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि। ईश्वी सन् २०२५ फेव्रुवरी १२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५१ मिनेट । स्वस्थानी व्रत समाप्ति। माघ स्नात समाप्ति । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंका लागि लाभदायक रहनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्त गर्ने योग छ, जसले तपाईँको जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धार्मिक वा सामाजिक क्षेत्रमा सक्रियता देखाउन सकिनेछ। प्रतिष्ठा बढ्नेछ । परिवार, विशेष गरी आमाको सहयोगले तपाईंलाई महत्त्वपूर्ण निर्णयहरू गर्न सहज हुनेछ । अध्ययन तथा ज्ञानार्जनमा रुचि बढ्नेछ, साथै उच्च शिक्षा वा कार्यका लागि लामो दूरीको यात्रा सम्भावित देखिन्छ । सरकारी वा निजी क्षेत्रमा नयाँ रोजगारी पाउने वा स्थानान्तरण हुने अवसर आउनेछ । तर, खर्च बढ्ने संकेत भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ । जग्गा-जमिन सम्बन्धी कुरामा केही ढिलाइ वा समस्याहरू आउन सक्छन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन धार्मिक गतिविधिमा सहभागी हुँदा मानसिक शान्ति मिल्नेछ । अनावश्यक खर्च कटौती गर्न सकेमा आर्थिक अवस्था सुधार गर्न सकिनेछ । व्यापारमा नयाँ साझेदारी वा विस्तारको अवसर प्राप्त हुन सक्छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने समय छ । विदेशमा लगानी गरेका व्यक्तिहरूलाई आर्थिक लाभ प्राप्त हुने सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन मिथुन राशिका व्यक्तिहरूका लागि धनलाभको सम्भावना छ । कुनै पनि आर्थिक निर्णय गर्दा बुद्धिमानीपूर्वक सोच-विचार गर्न आवश्यक छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ, साथै आफन्तहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ । आफ्नो विचार खुला रूपमा व्यक्त गर्नाले आत्मीय सम्बन्धहरू अझ सुदृढ बन्नेछन् । प्रेम सम्बन्ध थप गहिरो बन्नेछ भने वैवाहिक जीवनमा सन्तुष्टि प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)
आज सोचेका धेरैजसो काम सफलताका साथ सम्पन्न हुनेछन् । दाजुभाइ तथा नजिकका आफन्तहरूबाट सहयोग प्राप्त हुनेछ । पारिवारिक वातावरण सुखद रहनेछ भने घरमा कुनै शुभ कार्यको आयोजना हुन सक्छ । अध्ययन तथा बौद्धिक क्षेत्रमा सानो प्रयासले पनि ठूलो उपलब्धि हात पार्न सकिनेछ । प्रेम जीवनमा आत्मीयता बढ्नेछ । उद्योग, व्यापार तथा सेयर बजारमा गरिएको लगानीबाट मनग्गे फाइदा उठाउन सकिनेछ । छोटो दूरीको धार्मिक यात्राको अवसर प्राप्त हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सिंह राशिका व्यक्तिहरूका लागि विदेश यात्राको सम्भावना छ । विदेशी वस्तुको व्यापार गर्नेहरूका लागि राम्रो समय रहेको छ । स्वदेशी उत्पादन तथा व्यवसायमा विशेष ध्यान दिनुपर्ने समय हो । आफ्नो सीप, दक्षता तथा क्षमता देखाएर प्रतिष्ठा बढाउन सकिनेछ । अध्ययनमा सुधार आउनेछ भने प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रस्थानमा आउन सकिनेछ । सुख-दुःखमा साथ दिने शुभचिन्तकहरू भेटिनेछन् । धार्मिक यात्राको सम्भावना रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आर्थिक रूपमा फाइदाजनक रहनेछ । व्यापार, सेयर बजार तथा अन्य लगानीका क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि राम्रो अवसर छ । रोकिएका कार्यहरू पुनः सुचारु गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्थामा कार्यरत व्यक्तिहरूलाई पदोन्नति वा अतिरिक्त आम्दानीको अवसर प्राप्त हुन सक्छ । प्रेम जीवनमा थप आत्मीयता बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तुला राशिका व्यक्तिहरूका लागि केही चुनौतीपूर्ण समय रहन सक्छ । जानकारीको अभावले महत्त्वपूर्ण कार्यमा ढिलाइ हुन सक्छ । आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ, जसका कारण मानसिक तनाव बढ्न सक्छ । आर्थिक पक्ष केही कमजोर देखिएको छ, जसका कारण व्यापार व्यवसायमा मन्दी आउनेछ । खर्च बढी हुने सम्भावना भएकाले बजेट व्यवस्थापन गर्न ध्यान दिनु आवश्यक छ । पढाइ लेखाइमा मन नजाने भएकाले सानो-तिनो कठिनाइ उत्पन्न हुन सक्छ । राजनीति तथा समाजसेवामा संलग्न व्यक्तिहरूलाई जनताको साथ प्राप्त गर्न कठिनाइ हुनेछ । तथापि, धार्मिक यात्राको सम्भावना छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज व्यवसायका लागि लामो दूरीको यात्रा हुने सम्भावना छ । यात्रा तथा पर्यटन व्यवसायमा संलग्न व्यक्तिहरूलाई विशेष लाभ प्राप्त हुनेछ । धार्मिक तथा शैक्षिक गतिविधिमा सहभागी हुँदा सकारात्मक नतिजा मिल्नेछ । प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय अनुकूल रहनेछ । सानो प्रयासले राम्रो सफलता प्राप्त गर्न सकिनेछ । अनुसन्धान तथा नवीन खोजका क्षेत्रमा संलग्न व्यक्तिहरूलाई उन्नति प्राप्त हुनेछ । सेयर बजार तथा अन्य लगानीका क्षेत्रबाट लाभ हुने सम्भावना छ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आजको दिन धनु राशिका व्यक्तिहरूका लागि राम्रो रहनेछ । कुटुम्ब तथा आफन्तहरूसँग आर्थिक कारोबार सुल्झाएर नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा कार्यक्षेत्रमा सकारात्मक उपलब्धिहरू हात लाग्नेछन् । पुराना समस्याहरू समाधान हुनेछन् । यात्राको योग रहेको छ । आफन्त तथा दिदीबहिनीबाट सहयोग प्राप्त हुनेछ । उपहार तथा आर्थिक लाभ प्राप्त हुने सम्भावना छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
व्यापार तथा साझेदारी व्यवसायमा लगानी गर्दा सावधानी अपनाउनु आवश्यक छ । साझेदारहरूसँग मतभेद बढ्ने सम्भावना छ । पढाइ लेखाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुनेछ । विलासी वस्तुको प्रयोग गर्दा सतर्कता अपनाउनु राम्रो हुनेछ । प्रेम जीवनमा केही असमझदारी बढ्न सक्छ भने वैवाहिक सम्बन्धमा दूरी बढ्ने सम्भावना छ । धार्मिक यात्राको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ, जसका कारण प्रतिस्पर्धीहरू हाबी हुन सक्छन् । खानपानमा ध्यान नदिए स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन् । पैसाको प्रवाहमा कमी आउनेछ। आफन्तलाई दिएको धन फिर्ता नआउन सक्छ । चोरी वा हराउने सम्भावना भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ । प्रेम सम्बन्धमा अविश्वास बढ्नेछ भने मामा तथा आफन्तहरूसँग मतभेद हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
आजको दिन व्यापार व्यवसायमा विशेष फाइदा प्राप्त हुनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ । सन्तानको प्रगति देखेर मन प्रशन्न हुनेछ । पारिवारिक सुख बढ्नेछ। आकस्मिक रूपमा धन प्राप्त हुने सम्भावना छ । आफुले मन पराएको व्यक्तिबाट उपहार प्राप्त हुने योग रहेको छ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस