बैतडीमा पहिरोले घर भत्कायो, ८ घर उच्च जोखिममा
लगातारको वर्षाका कारण बैतडी जिल्लाको सुर्नया–६ धुलिधारमा एक घर पहिरोले भत्काएको छ। जनकराज अवस्थीको घर पहिरोको चपेटामा परेको हो, जसका कारण गोठमा बाँधिएको गोरुलाई सामान्य चोट लागेको छ। स्थानीय नवराज अवस्थीका अनुसार धुलिधार क्षेत्रका अम्बादत्त पन्त, चन्द्रदेव पन्त, र पदमराज अवस्थीको घर पनि पहिरोको जोखिममा रहेका छन्। पहिरोले अम्बादत्त पन्त र चन्द्रदेव पन्तको तरकारी बारीमा लगाएको बन्दा समेत नष्ट गरेको छ।
त्यस्तै, दशरथचन्द नगरपालिका–११ नागार्जुन पड्याबाज भन्ने स्थानमा पनि पाँच घर पहिरोको जोखिममा परेका छन्। प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार खिमानन्द पन्त, गुमानी पन्त, केशवदत्त पन्त, रगीदत्त पन्त, र गोपालदत्त पन्तको घरमा पहिरोको उच्च जोखिम रहेको छ।
उनीहरू अहिले आफ्नो परिवारसहित आफन्तको घरमा अस्थायी रूपमा बसिरहेका छन्। पहिरोको थप जोखिम रहेकाले तत्काल नै सुरक्षित स्थानमा सर्ने निर्णय गरिएको प्रहरी निरीक्षकले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस