पूर्वबाट उदायको घामले देशव्यापी उर्जा दिनेछ : प्रचण्ड

मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट घाम उदाउँदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रूपमा उर्जा दिने बताएका छन् ।
‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा तथा दोस्रो गाउँसम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा घाम उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यवहारिक रूपमै पुष्टि भएको र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिएको बताए ।
पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले बताए ।
अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको प्रत्यक्ष सहभागितामा भएको जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफै सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अबस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षासहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको बताए ।
अहिले एकातिर जनताले चाहे जति अधिकार पूर्णनभएको र अर्कोतिर कांग्रेस–एमाले जस्ता दलहरूले भएकै संविधान लागू गर्न नचाहिरहेको उल्लेख गर्दै उनले ती दलले संविधानमा जता हेर्दा पनि माओवादीकै एजेन्डा देख्ने गरेको बताए ।
जनताले पाएको अधिकार सुनिश्चित गर्दै सबै जाति, भाषा र संस्कृतिको रक्षा तथा समुदायको पहिचान स्थापित गर्न अब आफ्नो पार्टीले नेतृत्व गर्ने र त्यसमा आम उत्पीडित समुदायले साथ दिनुपर्ने बताए ।
अब उत्पीडित समुदायले पाएको अधिकार खोस्नु इतिहासको चक्का उल्टोतिर घुम्नुसरह भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्पीडित समुदायको पक्षमा रहेको संकल्प गर्न अभियान ल्याएर आएको बताए ।
उनले आजको दिनमा नेपाल राष्ट्र र नेपाली जनताको अधिकारको रक्षा माओवादी बाहेक कसैले गर्न नसक्ने स्पष्ट गर्दै साथ सहयोगका लागि जनतालाई आग्रह गरे ।
हिजो आफ्नो पार्टीलाई कसैले दया मायाले ठूलो पार्टी बनाएको नभई नेपाली जनताको बलले स्थापित भएको उल्लेख गर्दै अब पनि जनताको एकताबद्ध प्रयासबाट आफूहरु अगाडि बढ्ने बताए । उनले आगामी चुनबमा गठबन्धन राजनीतिको भुल नदोर्होयाउने प्रतिबद्धता व्यक्त गरे ।
विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दा उनीहरूलाई फाइदा भएको, माओवादीलाई घाटा भएको र जनताका एजेन्डा कमजोर भएकाले अब त्यस्तो भुल नदोर्याउने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस