Techie IT
२०८२ असोज ४, शनिबार

मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन : प्रचण्ड


सुनसरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् । 

जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् । 

उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन संभव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताए । 

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए । 

अन्य दलहरुलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्बो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए । 

उनले सीमा क्षेत्रका समस्या लगेर सिंहदरबारमा घन्काउन जनतासँग माओवादी, तराई मधेस जागरण अभियान थालिएको जानकारी दिंदै यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रुपमा अघि बढाउने बताए ।  

हरिनगर ६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरुले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले सिमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रती गम्भीर हुन आग्रह गर्दै बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट