वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ। सोमबार बसेको परिषदको बैठकले सर्वसम्मत रूपमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राउतको नाम सर्वसम्मतिले चयन गरिएको जानकारी दिए।
यसअघि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्न सकेको थिएन। सोमबारको बैठक अघिल्लो बैठककै निरन्तरता थियो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्तिको एजेन्डा प्रस्तुत गरेका थिए।
न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि आठ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। तीमध्ये सबैभन्दा वरिष्ठ न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका रूपमा अघि सारेको हो। हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आगामी असोज १९ गते अवकाशमा जाँदैछन्। संविधानको धारा २८४(३) अनुसार प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुखको पद रिक्त हुनुभन्दा एक महिना अगाडि सिफारिस गर्नुपर्ने प्रावधान छ।
प्रकाशमान सिंह राउत २०७१ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उदयपुरमा जन्मिएका राउत २०६३ सालमा नेपाल बार एसोसिएसनका अध्यक्षसमेत थिए। संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राउतलाई राष्ट्रपति द्वारा औपचारिक रूपमा प्रधानन्यायाधीशमा नियुक्त गरिनेछ। नियुक्ति भएपछि राउतले करिब १३ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस