एमालेमै फर्किने झलनाथ खनालको संकेत
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल एमालेमै फर्किन सक्ने संकेत गरेका छन् ।
मंगलबार धनुषा पुगेका खनालले राष्ट्रियताको सन्दर्भमा सबैसँग कार्यगत एकता हुनसक्ने प्रष्ट पारे । यद्यपि एकीकृत समाजवादीले तत्काल कुनै पनि दलसँग एकता नगर्ने बताएका छन् ।
‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । त्यो अवस्था आएकै छैन । तर, कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युका आधारमा रहेर कार्यगत एकता हुनसक्छ,’ उनले भने, ‘आज राष्ट्रियताप्रति खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन अरु पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ।
त्यस्तै उनले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने र मुद्दाका आधारमा कार्यगत एकता हुनसक्ने बताए । खनालले चुच्चे नक्सा नेपालले बनायो त्यसलाई कार्यान्वयन गरियोस् भनेर हामी उभिन सक्दैनौँ । यद्यपि चुच्चे नक्सा जुनसुकै दलले कार्यान्वयन गरेपनि त्यसको पक्षमा आफूहरू उभिने बताए ।
यसअघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहित समेटेर चुच्चे नक्सा सार्वजनिक गरिसकेको छ । यसका साथै १०० रुपैयाँको नोटमा पनि उक्त नक्सा छापिएको छ ।
पछिल्लो समयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल समूहबीच राम्रो सम्बन्ध नभएको स्रोत बताउँछ । स्रोतका अनुसार नेपालको समूह एकीकृत समाजवादीलाई नै अघि बढाउने ध्याउन्नमा छ भने खनाल समूह एमालेमा मिल्न सक्ने सम्भावना बढी छ ।
खनाल एमालेमै फर्किने चर्चा चलेकै बेला उनले चुच्चे नक्सा कार्यान्वयनमा ल्याउनेसँग एकता हुनसक्ने बताएपछि राजनीतिक वृत्तमा एकीकृत समाजवादीको खनाल समूह एमालेमा फर्किन सक्ने आकलन भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस