नेविसंघ असन्तुष्ट समूहले लगायो त्रिचन्द्र क्याम्पसमा ताला, अनेरास्ववियुको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संगठन (नेविसंघ)को असन्तुष्ट समूहले त्रिचन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका आकांक्षी नेविसंघको असन्तुष्ट समूहले तालाबन्दी गरेको हो ।
सोही समूहका केही विद्यार्थीहरूले आफ्नो संगठनबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका थिए ।
क्याम्पसको मूल गेटमै उक्त समूहले तालाबन्दी गरेपछि क्याम्पसको कर्मचारी प्रशासनको कार्यसम्पादन प्रभावित बनेको छ ।
तालासँगै टाँसिएको पर्चामा भनिएको छ, ‘हाम्रो जायज माग पूरा नभएसम्म क्याम्पस प्रमुख र निर्वाचन समितिका पदाधिकारीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको छ ।’
पर्चामा सभापति पदका उम्मेदवार विवेक बानियाँ र श्रीधर श्रेष्ठले हस्ताक्षर छन् ।
त्रिचन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको उमेवारी दर्ताको क्रममा यी दुवैले आफ्नो उमेदवारी दर्ता गराएका थिए ।
तर, निर्वाचन समितिले गोविन्द कोइरालालाई आधिकारिक उमेदवार घोषणा गरेपछि उनीहरूले तालाबन्दी गरेका हुन् ।
नेविसंघको आन्तरिक विवादका कारण निर्वाचनको मुखैमा क्याम्पस बन्दी हुनुहँदैन भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध गरेको छ ।
नेविसंघ नेपाली कांग्रेस र अनेरास्ववियु नेकपा (एमाले) निकट विद्यार्थी संगठन हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस