रवि लामिछानेविरुद्ध पूरक अभियोग दर्ता गर्दै प्रहरी
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग दर्ता गर्न लागेको छ। सुर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा लामिछानेको संलग्नता प्रमाणित गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुसन्धान गर्न निर्देशन दिएको छ। संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीले मौखिक निर्देशन पाएको हो।
पोखरा उपमहानगरपालिका वडा नम्बर–५ मा अवस्थित सुर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछानेसहित पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनको संलग्नता रहेको भन्दै पीडितहरूले पूरक उजुरी दिएका थिए। पोखरा उपमहानगरपालिकाले पनि रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई बुझाइसकेको छ।
सहकारीको रकम अनियमित तरिकाले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएपछि त्यसको खर्च र सञ्चालन प्रक्रियामा लामिछानेको संलग्नता संसदीय छानबिन समितिले ठहर गरेको छ। समितिले बुझाएको प्रतिवेदनमा आधारित रहेर मन्त्रिपरिषद्ले छानबिनको निर्णय गरेको हो। समितिले गोर्खा मिडियाका सञ्चालक अध्यक्ष गितेद्रबावु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा चलाउने सिफारिस गरेको छ।
यस प्रकरणमा सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पहिले नै पक्राउ परिसकेका छन् र उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन्। सुर्यदर्शन सहकारीमा बचतकर्ताहरूको १ अर्ब ८ करोड रुपैयाँको हिनामिना भएको अनुसन्धानबाट पुष्टि भएको छ। पूरक अभियोगको कानुनी व्यवस्था अनुसार थप अनुसन्धानका क्रममा अन्य संलग्नहरूको मुद्दा अघि बढ्न सक्छ।
सहकारीका पूर्वअध्यक्ष जीबी राई विरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ भने उनी हाल फरार रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस