Techie IT
२०८२ असोज १, बुधबार

दसैँ, तिहार र छठका लागि अग्रिम टिकट बुकिङ १३ असोजभित्र खुलाउने तयारी


दसैँ, तिहार र छठ जस्ता ठूला पर्वहरूलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ १३ असोजभित्र खोल्ने तयारी भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायहरूसँग छलफल गरी यस विषयमा निर्णय लिने तयारी गरेको हो।

शनिबार मन्त्रालयमा सर्वपक्षीय बैठक डाकेर अग्रिम टिकट बुकिङको मिति तय गर्ने प्रयास भएको भए पनि ठ्याक्कै मिति भने अझै तय हुन बाँकी छ। यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले सडकको अव्यवस्थित अवस्थाका कारण व्यवसायीहरूले विरोध गरेको बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले हरेक वर्ष चाडबाडको समयमा नागरिकहरूले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको जनाए। लामो दूरीका सवारीसाधनका लागि सडकको अवस्था सुधार गर्नु मुख्य सर्त रहेको उनले बताए। सडकको अस्थिर अवस्थाले दुर्घटनाको जोखिमसमेत बढेको सिटौलाको भनाइ छ।

सडक विभागले दसैँका लागि विशेष तयारी गर्दै नारायणघाट–बुटवल सडकखण्डमा देखिएको अवरोध हटाउन र मर्मत कार्य अघि बढाइसकेको जनाएको छ।

भाडा समायोजनमा छलफल

शनिबारको बैठकमा सार्वजनिक यातायातको भाडा समायोजनको विषयमा पनि छलफल भएको थियो। निर्णयअनुसार दसैँ–तिहारपछि मात्र नयाँ भाडादर लागू गरिनेछ। इन्धनको मूल्य घटबढसँग सम्बन्धित वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि हुन सकेको छैन। बैठकमा यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन र अदालतका आदेशहरूको पालनाबारे पनि छलफल भयो।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले मिति तय गर्नका लागि बुधबार पुनः छलफल गरिने र घटस्थापनाभन्दा एक साता अघिदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए।

सरकारले व्यवसायीहरूलाई घटस्थापनाको एक साताअघि टिकट बुकिङ खोल्न निर्देशन दिए पनि व्यवसायीहरूले पहिला सडक मर्मत सम्पन्न गर्नुपर्ने अडान राखेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट