देशभर सात स्थानमा आगलागी, करिब १७ लाख रूपैयाँभन्दा बढीको क्षति

बिहीबार र शुक्रबार देशभरका विभिन्न सात स्थानमा आगलागीका घटना भएका छन्, जसमा करिब १७ लाख १३ हजार रुपैयाँभन्दा बढी बराबरको धनमाल जलेर नष्ट भएको छ। केही ठाउँमा विद्युत सर्ट त केही ठाउँमा अन्य कारणले आगलागी भएको जनाइएको छ ।
सुर्खेत: भेरीगंगा नगरपालिका–१०, थानेचौरमा ६५ वर्षीय खडक बहादुर सुनारको घरमा बिहीबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेको छ ।
बर्दिया: बढैयाताल गाउँपालिका–५, खैसामा दिलाल पठानको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा घर पूर्णरूपमा जलेर १ लाख ९३ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।
रामेछाप: लिखु तामाकोशी गाउँपालिका–६, बिर्तामा चक्र बहादुर श्रेष्ठको गोठमा बिहीबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
अर्घाखाँची: सन्धिखर्क नगरपालिका–१२, कुण्डेमा मान बहादुर कुँवरको घर र गोठमा आगलागी हुँदा दुवै संरचना पूर्णरूपमा जलेर क्षति भएको छ। क्षतिको यकिन रकम नखुलाइएको भए पनि ठूलो नोक्सानी भएको जनाइएको छ ।
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–१०, झलारी बजारस्थित ३० वर्षीय राजेश धामीको सेकुवा सेन्टरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
डडेलधुरा: परशुराम नगरपालिका–१०, दुम्सीजलामा लक्ष्मण बुढाको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा ५ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
बारा: देवताल गाउँपालिका–७, बेनौलीमा ललन महतोसहित ३ जनाको नास्ता पसलमा बिहीबार राति आगलागी हुँदा २ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
सबै आगलागी घटनामा स्थानीयवासी र प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ। प्रहरीले सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस