Techie IT
२०८३ कार्तिक ३, सोमबार

थली नौबिसको बिर्सती मेलाको ऐतिहासिक पाटो


हिमका हिमजल पानीका छाया 
परबत महालिङ्ग उथपन्थी भया, 
उथपन्थी भया सुन खोपी रया 
सुन खोपी रया सुन दिया बाल्यो।
छय दिया महलिङ्ग निमन्त भया 
एक दिया महालिङ्ग भरपन्थ भया ।
(महालिङ्ग देबताका फाग )

महालिङ्ग  देबताका यीनै फागका  हरफहरू गाउँदै महादेवको पुजा आराधना गर्दै बिर्सती मेलाको  सुभारम्भ  हुन्छ।

ऋतुचक्र भन्दा फरक समय चक्र अनुसार  नै प्रतेक बर्ष  भदौ १८ गते  बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ६ मा पर्ने लेकगाउको उबासु पर्व सुरु भएपछि यहाँको  बिर्सती मेलाको केउड खुल्ने गर्दछन् । बझाङको पुरानो सामाजिक स्मृति, धार्मिक आस्था, मानव सभ्यताको विकाससँग जोडिएका लोकविश्वास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृति  फाग, भारीखेल, चाभाइ, देउडा, ढुस्का र विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिको समागमबाट थली नौबिसको बिर्सती मेलाले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ।

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले पनि सम्पन्न छ। यहाँका गाउँबस्तीमा पुस्तौँदेखि चलिआएका लोकपरम्परा,स्थानीय भाषा,भारीखेल, ढाके नाच,चाभाइ खेल, धार्मिक अनुष्ठान र मेलापर्वले स्थानीय जनजीवनलाई जीवन्त बनाएका छन्।दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिका केन्द्र बिशौनाचौरमा लाग्ने बिर्सती मेला बझाङको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ।

बिर्सती मेला  यहाँका मानिसका लागि केवल एउटा जात्रा वा मनोरञ्जनको अबसर मात्रै होइन । यो हाम्रो आस्था, इतिहास, सामाजिक सम्बन्ध, लोकस्मृति र सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो । खासगरि किसानहरुको दु:ख बिर्साउने भएर, अझै २० गते कै राती लाग्ने भएर पनि बिरसती जात बाट  अप्रभंश भएर  बिर्सती जात, बिर्सतीका मेला, थलीको जात वा थलीको पर्व  आदि नामले समेत  चिन्ने गरेका छन्। 

यो पर्व लाई १८ गते  देखी  २० गते बिहानसम्म  पर्व  र बीस गतेदेखी २२ /२५  सम्म नै निरन्तर मेलाका रूपमा मनाउने प्रचलन छ। पूजा–आराधना, देवताका फाग, भारीखेल, चाभाइ खेल, देउडा, ढुस्का, ढाकेनाच , राङ्गा जुधाउने परम्परा र सामूहिक भेटघाटले बिर्सती मेलालाई बझाङको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित गरेको छ।

आस्था र संस्कृतिको संगम
बिर्सती मेला धार्मिक आस्था र लोकसंस्कृतिको संगम हो। मेलामा सहभागी हुने मानिसहरू केवल रमाइलो गर्न मात्र आउँदैनन्। उनीहरू देवताको पूजा गर्छन्, व्रत बस्छन्, विभिन्न धार्मिक सामग्री चढाउँछन् र आफ्नो परिवार, गाउँ तथा समाजको सुख–समृद्धिको कामना गर्छन्। 

मेलाको प्रभावकारिता पछिल्ला वर्षमा अझ बढ्दै गएको देखिन्छ। स्थानीय बासिन्दाले मेलालाई व्यवस्थित र आकर्षक बनाउन भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, देउडा प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता लगायत मनोरञ्जनात्मक गतिविधि थप्दै आएका छन्। यसले मेलालाई धार्मिक अवसरसँगै सामाजिक तथा सांस्कृतिक उत्सवका रूपमा समेत विस्तार गरेको छ।

बिर्सती मेलाको  वास्तविक आकर्षण आधुनिक कार्यक्रम मात्रै नभइ यहाँका  पुराना लोकपरम्परा चाभाइ खेल,भारीखेल, देउडा, ढुस्का र देबि /देवताका फाग गाएन , ढाके नाच लगायतले यहाँको  मौलिकतालाई जीवन्त राखेको छ।

थलीदुर्गाको मन्दिरको नामसँगै यस क्षेत्रको नाम र पहिचान पनि जोडिएको छ। दुर्गाथली गाउँपालिकाको नामकरणसमेत थलीदुर्गा मन्दिरकै नामबाट भएको स्थानीय मान्यता छ। यसले एउटा मन्दिरले केवल धार्मिक महत्व मात्र होइन, स्थानीय प्रशासनिक र भौगोलिक पहिचानमा समेत सकारात्मक प्रभाव पारेको छ। मन्दिर, मेला र गाउँको सम्बन्ध यहाँको संस्कृति बुझ्ने महत्वपूर्ण आधार हो। धार्मिक स्थल वरिपरि विकसित हुने जात्रा तथा पर्वले स्थानीय समाजलाई लामो समयदेखि एक ठाउँमा जोड्दै आएका छन्।

भाद्र १८लेकगाउँको उबासु 
प्रत्येक वर्ष भाद्र १८ गते लेकगाउँको दैपाडमा रहेको बाठपाला देवताको मन्दिरमा पूजा–आराधना सुरु भएपछि बिर्सती पर्वको प्रारम्भ हुने गर्छ। गणेश देवतालाई  यहाँ बाठपाला देबताका रूपमा मान्ने चलन छ। यस दिन व्रत बस्ने परम्परा पनि रहेको छ। स्थानीय विश्वासअनुसार कतिपय भक्तजनले निराहार (कुनैपनि अन्न  नखाने ) जलाहार  (पानीसमेत नखाई) तथा फलाहार अर्थात फलफूलसमेत नखाई उपवास बस्ने  गर्छन्। दिनभरि चारै गाउँमा मानिसहरु  बाठपाला देवताको पूजा–आराधना गर्दै  दैपाणमा आउने गर्छन्। 

धार्मिक अनुष्ठानपछि साँझतिर वातावरण थप सांस्कृतिक बन्न पुग्छ। साझ बाठपाला देबताका फाग गाउने भारीखेल लगाउने गरिन्छ। रातभर भजन–कीर्तन तथा सामूहिक सांस्कृतिक गतिविधि चल्ने गर्छन। बिर्सती मेलाको विशिष्टता भनेकै देवताका फाग र भारीखेल हुन्। फागका माध्यमबाट देवताको स्तुति गरिन्छ।

"माल जनम्या देबि पर्वत आया..
परबत आइ गोसाइँ हेरोफेरो च्यायो 
हेरोफेरो च्वायो गोसाइँ बैसेकु भया 
डिडराख्यो थलिजिउलो भिडा राख्यो कुलो 
अब देबि पैरन लाग्या कमलुको फुल"

बझाङ थलिनौबिसमा दुर्गादेबिका यिनै फागका हरफमा स्थानीय धार्मिक आख्यान र देवतासँग सम्बन्धित विश्वास व्यक्त भएको पाइन्छ। भारीखेल पनि यसै प्रक्रियासँग जोडिएको महत्वपूर्ण लोकपरम्परा हो। रातको समयमा भारीखेल लाग्दा सहभागीहरू गीत, भाका र नृत्यमा रमाउँछन्। यसले मेलामा धार्मिक भावनासँगै मनोरञ्जन र सामुदायिक एकताको वातावरण सिर्जना गर्छ।

बिर्सती मेलासँग जोडिएको अर्को रोचक पक्ष देवता चलाउने र भविष्यवाणी गर्ने स्थानीय जनविश्वास परम्परा यहाँ रहेको छ।
देवताका फाग गाएर देवताको स्तुति गरिसकेपछि सबैजना मन्दिरभित्र बसेर देवताको उपस्थिति तथा संकेतका आधारमा गाउँको भविष्यबारे जान्ने परम्परा रहेको स्थानीय विश्वास छ। यस क्रममा गाउँको मात्र नभई आलिपाली, देश तथा तत्कालीन राज्यको भविष्यबारे समेत संकेत प्राप्त हुने विश्वास गरिन्छ।

यो नै यहाँका समुदायको धार्मिक तथा सांस्कृतिक विश्वास हो। खासगरि  प्राकृतिक विपत्ति, खेतीपाती, रोगव्याधि, सामाजिक अवस्था र राज्यको भविष्यबारे मानिसले विभिन्न धार्मिक तथा सांस्कृतिक माध्यमबाट संकेत खोज्ने गरेका छन्। बिर्सती मेलामा पाइने यस्तो परम्पराले स्थानीय समाजको विश्वदृष्टि र धार्मिक मनोविज्ञान बुझ्न मद्दत गर्छ।

ढाकेनाच परम्परा 
यहाँको ढाका बजाउने परम्परा पनि विशेष आकर्षण हो। ढाका यहाँ केवल संगीतको साधन होइन, धार्मिक तथा सांस्कृतिक अनुष्ठानको महत्वपूर्ण हिस्सा बनेको छ। देवताका फागसँगै ढाका बजाउँदा मेलाको वातावरण थप उत्साहपूर्ण बन्न पुग्छ। कतिपय अवसर र स्थानमा ढाका बजाउने प्रतिस्पर्धासमेत हुने गर्छ। स्थानीय भाषामा ढाका जुध्याउने भनिने यस्तो प्रतिस्पर्धाले बाजागाजासम्बन्धी स्थानीय दक्षता र सांस्कृतिक प्रतिस्पर्धा र लोक संस्कृतिको जगेर्नालाई  महत्त्व दिएको पाइन्छ। ढाकाको आवाजसँगै मानिसहरू धार्मिक यात्रामा सहभागी हुन्छन्। बाजाको लय, फागको भाका र यात्रामा सहभागी मानिसको सामूहिक उत्साहले मेलाको छुट्टै वातावरण निर्माण गर्छ ।

भाद्र १९ गते च्यागोटकी जात मालिकमाणु पर्व 
भाद्र १९ गते यहाँका चारै गाउँको उबासु पर्व मनाउने प्रचलन छ। यस दिन दुवै गाउँपालिकाका साथै अन्य क्षेत्रबाट आएका भक्तजनहरू पनि व्रत बसेर लेकगाउँको दैपाड मन्दिरमा दौलाको दैपाण र सैनको मालिकमाणु र दुर्गाथली र छबिसपाथिभेराको केन्द्र च्यागोटको महालिङ देबताको मन्दिरमा  पूजा–आराधना गर्ने परम्परा रहेको छ।

भक्तजनहरूले आफ्नो श्रद्धाअनुसार विभिन्न सामग्री देवतालाई चढाउने गर्छन्। पुजा  सामग्रीका रूपमा आलम, नेजा, कैल, घोडा, त्रिशूल, ढाका तथा द्रव्य सुन चादी लगायतका सामग्री चढाउने चलन छ।

पूजा–आराधनापछि धार्मिक यात्रा अघि बढ्छ। दौलाको दैपाडबाट  च्वागोट महालिङ्ग देबताको मन्दिर जाने गर्छन्। लेकगाउ बाठपाला मन्दिर दैपाडबाट बाल्यचौर हुँदै महालिङ्ग देवताको मन्दिर च्यागोटसम्म ढाका बजाउँदै, जयजयकार गर्दै र नाङ्गो खुट्टाले पदयात्रा गर्ने परम्परा रहेको छ।

यो यात्रा धार्मिक आस्थासँगै सामूहिक सहभागिताको उदाहरण पनि हो। महिला, पुरुष, वृद्ध, युवा तथा विभिन्न ठाउँबाट आएका भक्तजनहरू एउटै यात्रामा सहभागी हुन्छन्। भौगोलिक दूरी पार गर्दै एउटै धार्मिक गन्तव्यतर्फ अघि बढ्नुले समुदायबीचको एकताको भावना प्रकट गर्छ।

महालिङ्ग देवताको आराधना
धार्मिक यात्रामा सहभागी भक्तजनहरू च्यागोटको महालिङ्ग देवताको मन्दिर  पुगेपछि त्यहाँ पनि पूजा–आराधना तथा सांस्कृतिक कार्यक्रम हुन्छ। महालिङ्ग देवताको स्तुति गर्दै फाग गाइन्छ। ढाका बजाउने प्रतिस्पर्धा तथा सामूहिक सांस्कृतिक गतिविधि चल्छ।

भक्तजनले फलफूल बाँडेर खाने परम्परा पनि रहेको छ। व्रत, पदयात्रा र धार्मिक अनुष्ठानपछि सामूहिक रूपमा फलफूल बाँडेर खानुले धार्मिक संस्कारसँगै सामाजिक साझेदारीको भावनालाई पनि देखाउँछ। एउटै यात्रामा सहभागी मानिसहरूबीच आत्मीयता बढ्छ।
च्यागोटबाट धार्मिक गतिविधि सम्पन्न भएपछि भक्तजनहरू फेरि आ आफ्नो दैपाड मन्दिरतर्फ फर्कने गर्छन्। साँझतिर दुर्गाथलीको  मालिकमाण्डु मन्दिरतर्फ जाने परम्परा पनि रहेको छ। मालिकमाण्डुमा पुगेपछि पनि मेला सकिँदैन। उल्टै सांस्कृतिक रौनक अझ बढ्छ। दुवै गाउँपालिकाका मानिसहरू यहाँ जम्मा हुन्छन्।

यहाँ भारीखेल, चाभाइ खेल तथा ढुस्का प्रस्तुत गरिन्छन्। धार्मिक गतिविधिका बीचबीचमा ढुस्का खेल्दै मानिसहरू मनोरञ्जन गर्ने गर्छन्।
मनोरञ्जनका लागी खेलिने ढुस्काहरु

ढुसु ढुस्या तै माणुका मेल गीत
​ढुसु ढुस्या तै माणुका मेल
आउना खाउला तै माणुका मेल,
झाना खाउला तै माणुका मेल
साली लाइगै बजुर्यालका खेल
साली लाइगै बजुर्यालका खेल
भिना भाइरग्यो तै सालीका खेल
भिना भाइरग्यो तै सालिका खेल
साली भाई गै अछामीका खेल
भिना भाइग्यो तै सालिका खेल
ढुसुढुष्या तै माणुका मेल
साली भाइ गै डोट्यालका खेल 
क्रमश…………..
ढुस्काले मेलाको वातावरणलाई थप जीवन्त बनाउँछ। स्थानीय भाका, शब्द र हास्य–व्यङ्ग्यसँग जोडिएका यस्ता प्रस्तुति समुदायको दैनिक जीवन र सामाजिक सम्बन्धको प्रतिबिम्ब पनि हुन्।

मनोरञ्जनका लागी  युवाहरए पनि यसरी ढुस्काहरु सङ रमाउने गर्छन् 
​बाटतलि खप्तड्या निगालो बाटतलि खप्तड्या निगालो
चम्पारानी का भयो बियालो चम्पारानी का भयो बियालो
बाटतली खप्तड्या निगालो बाटतलि खप्तड्या निगालो
बाज्या भिट्या वाइभयो बियालो 
बाज्या भिट्या वाइभयो बियालो 
बाट तलि खप्तड्या निगालो चम्पारानी का भयो बियालो
जिजा भिट्या क्रमश………..

यसरी  भजन–कीर्तन, पूजा–आराधना, भारीखेल, चाभाइ र ढुस्काको मिश्रणले मालिकमाण्डुको साँझलाई एउटा विशाल सांस्कृतिक जमघटमा परिणत गर्छ। यिनै लोक संस्कृति र यहाँको मौलिक परम्परा साच्चिकै हेर्न लाएक देखिन्छन ।

भाद्र २० गते : बिर्सती मेला (बिर्सतीकि रात )
प्रतेक बर्ष भाद्र २० गतेलाई बिर्सती मेलाको मुख्य दिनका रूपमा लिइन्छ। यही दिनसँग मेलाको नाम जोडिएको भएर यस दिन बझाङको ऐतिहासिक थलीदुर्गा मन्दिरमा पुजा आराधना गरिन्छ। बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको भीड लाग्ने गर्दछ।  महिलाहरूले चाभाइ खेल लगाउने परम्परा पनि यस दिनको मुख्य  विशेषता हो। 

थलीदुर्गा मन्दिरबाट सुरु भएको चाभाइ खेल बिसौना बजारसम्म पुग्ने र दिउँसोभर खेल्दै रमाइलो गर्ने परम्परा रहेको छ। यसरी धार्मिक अनुष्ठान र आस्था र बिश्वास एकातिर झल्किन्छ भने अर्कोतिर मनोरञ्जनको  समेत उत्तिकै उत्साह देखिन्छ।

चाभाइ खेल
​चाभाइ रे चाभाइ रे  चाभाइ रे चाभाइ रे
खेलिमाली महालिङ्ग  क्याउरे बरु दिन्ना कठ
चामाइ रे चामाइ रे…..
नरलोग तमी सेवा, खेलि माली महालिङ्ग
क्याउरे बरु दिन्ना कठ
चामाइ रे चामाइ रे………..
भोका पेट फुका केस आयाउ तमी सेवा कठ
खेलि माली महालिङ्ग क्याउरे बरु दिन्ना कठ
चामाइ रे चामाइ रे….
पुत नहुन्या पुत दिन्ना खेलिमाली महालिङ्ग
क्याउरे बरु दिन्ना कठ ब्वारी नहुन्या ब्वारी दिन्ना

चामाइ रे चामाइ रे….

बिर्सती मेलामा चाभाइ खेलको आफ्नै महत्व छ। दुर्गा देबिको मन्दिर मठदेखी बिशौनाचौर हुँदै  लेकगाउँको दैपाणसम्म चाभाई खेल्दै आउने प्रचलन छ।  विशेषगरी महिलाहरूको सहभागिताले यसलाई अझै जीवन्त बनाएको देखिन्छ। लोकसंस्कृतिको संरक्षणमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। 

गाउँघरका धेरै गीत, भाका, संस्कार र परम्परा महिलाहरूले पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। चाभाइ खेल त्यसको एउटा उदाहरण हो। चाभाइ केवल मनोरञ्जन होइन। यसमा महिलाको सामूहिक सहभागिता, सामाजिक सम्बन्ध र सांस्कृतिक अभिव्यक्ति जोडिएको हुन्छ। एउटै ठाउँमा भेला भएर गीत र खेलमार्फत रमाइलो गर्दा महिलाबीचको सामाजिक सम्बन्ध पनि बलियो हुन्छ। 

आजको बदलिँदो समयमा यस्ता परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ। चाभाइका गीत,भाका र खेल्ने तरिका, मौलिक  भाका र आफ्नै मौलिक पोसाक समेतले बास्तबिक संस्कृतिको प्रतिनिधित्व गरेको पाइन्छ। यिनै मौलिक परम्परालाई अभिलेख गरेर राख्न सके भविष्यका पुस्ताले यसको मौलिक स्वरूप बुझ्न सक्छन्।

बिर्सतिको तिरुडाे 
(सुदुरपश्चिम कै चर्चित लाइभ  डेउडा)

बिर्सती भयाको भेट रेलु झल्का रेलु 
छकाल ब्यान्दयाली सम्म खेलु भन्या खेलु

बिर्सती मेलाको अर्को मुख्य आकर्षण बिर्सतीको तिउडाे हो। देउडा स्थानीय भाषामा देउडालाई तिउडो भन्ने चलन रहेको छ। देउडा यहाँ मनोरञ्जन मात्र होइन, संवाद र प्रतिस्पर्धाको माध्यम पनि हो। देउडा पारखीहरूबीच हुने प्रतिस्पर्धाले मेलाको रौनक बढाउँछ। 

स्थानीय परम्पराअनुसार यहाँ दोपाइल्या, तेपाइल्या तथा छोर्याटा–छोर्याटिका अर्थात् केटा–केटीका देउडा खेल्ने  गर्छन्। देउडामा गीत, प्रश्न, उत्तर,  सवाल जवाफ हुने कुराले निकै रोचक बनाउने गर्छ।डेउडामै  व्यङ्ग्य र सामाजिक विषय समेटिन सक्छन्। यसले सहभागीको स्मरणशक्ति, भाषिक क्षमता र सिर्जनशीलता पनि देखाउँछ। एक पक्षले गीत वा भनाइ उठाउँदा अर्को पक्षले त्यसको जवाफ दिने परम्पराले देउडालाई जीवित संवाद बनाउँछ।

देउडाका माध्यमबाट प्रेम, समाज, परिवार, राजनीति, प्रकृति, दुःख, सुख, व्यङ्ग्य तथा समसामयिक विषय अभिव्यक्त गर्न सकिन्छ। यसले जनजीवनका कुरा सहज भाषामा प्रस्तुत गर्छ। बिर्सती मेलामा देउडा प्रतियोगिता आयोजना हुँदा विभिन्न ठाउँका कलाकार तथा पारखी एकै ठाउँमा आउँछन्। यसले स्थानीय भाकाबीच आदानप्रदान पनि गराउँछ। 

प्रत्यक्ष सवाल जवाफले यहाँको डेउडा पारखीहरुका लागी अत्यन्तै स्मरणीय देखिन्छ।  छोर्याटा–छोर्याटिकाको देउडा बिर्सती मेलाको एउटा विशेष सांस्कृतिक पक्ष हो। अर्थात् युवा केटा–केटीबीच देउडा खेल्ने परम्परा। पुरानो समयमा यस्तो देउडाले सामाजिक परिचय र सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको स्थानीय स्मृति पाइन्छ। 

देउडा खेलकै क्रममा सम्बन्ध विकास हुने र  कतिपय अबस्थामा डेउडा खेलबाट नै विवाह  समेत गर्ने परम्परा रहेको पाइन्छ। भाद्र २० गते रातभर पनि देउडा खेल्ने परम्परा रहेको छ। मेला रात परेपछि सकिँदैन। बरु रातको समय देउडा, गीत र सामूहिक मनोरञ्जनका कारण अझ जीवन्त हुन्छ। स्थानीय मानिसहरू समूह बनाएर मेलामा सहभागी हुन्छन्। युवा पुस्ता देउडामा रमाउँछन्। वृद्ध पुस्ताले पुराना भाका सुन्छन्। बालबालिका नयाँ अनुभव लिन्छन्। यस्तो अन्तरपुस्तीय सहभागिता लोकसंस्कृतिको संरक्षणका लागि महत्वपूर्ण हुन्छ। संस्कृति त्यतिबेला मात्र जीवित रहन्छ जब एउटा पुस्ताले अर्को पुस्तासँग बाँड्छ।

राङ्गा जुधाउने  अचम्मको परम्परा
बिर्सती मेलाको अन्तिम चरणमा भाद्र २१ गते राङ्गा जुधाउने परम्परा रहेको छ। यसपछि बिर्सती मेला सम्पन्न हुने मान्यता छ। राङ्गा जुधाउने परम्परा सुदूरपश्चिमका केही क्षेत्रमा पुरानो सांस्कृतिक अभ्यासका रूपमा पाइन्छ। बझाङको यो परम्परालाई स्थानीय पहिचानसँग जोडेर हेर्ने गरिन्छ। 

यस परम्पराबारे विभिन्न किंवदन्ती र जनश्रुति पनि पाइन्छन्। बझाङमा रहेको राङ्गा जुधाउने परम्पराको प्रभाव वा अनुकरणबाट नुवाकोटको गोरु जुधाइ मेलासमेत विकास भएको भन्ने स्थानीय किंवदन्ती सुनिन्छ। बझाङी राजा जयपृथ्वीबहादुर सिंहको समयदेखि यस्तो परम्परासँग सम्बन्ध रहेको भन्ने बिश्वास छ। देव–देवी मानिसकै गतिविधिमा सहभागी हुने, खेल्ने, रमाउने र मन्दिर निर्माण गर्ने कथाले मानव र दैवी शक्तिबीचको सम्बन्धलाई स्थानीय दृष्टिकोणबाट प्रस्तुत गर्छ। 

थलीनौबिसको , दैपाड, च्यागोट, मालिकमाण्डु, थलीदुर्गा, सुर्मासरोवर, साइपाल हिमाल मात्रै हैन मानसरोबर समेतको चित्रण यहाँका फागहरुमा पाइन्छ। यसले देखाउँछ कि स्थानीय समाजले आफ्नो भूगोललाई केवल बसोबासको ठाउँका रूपमा हेरेको छैन। पहाड, नदी, ताल, मन्दिर र गाउँलाई धार्मिक तथा सांस्कृतिक अर्थ दिइएको छ।

धार्मिक यात्रा र सामुदायिक एकता
बिर्सती मेलामा हुने पदयात्राले पनि सामुदायिक एकताको भावना बलियो बनाउँछ। दैपाडबाट च्यागोटसम्मको यात्रा व्यक्तिगत यात्रा होइन। यो सामूहिक धार्मिक यात्रा हो। नाङ्गा खुट्टाले हिँड्ने, ढाका बजाउने, देवताको नाममा जयजयकार गर्ने र समूहमा मन्दिर पुग्ने परम्पराले सहभागीलाई एउटै धार्मिक भावनामा बाँध्छ। यात्रामा सहभागी हुँदा मानिसबीच परिचय बढ्छ। टाढा गाउँका मानिस भेटिन्छन्। पुराना सम्बन्ध नवीकरण हुन्छन्। नयाँ पुस्ताले आफ्ना अग्रजसँगै धार्मिक यात्रा गर्छ। यसरी मेला धार्मिक अनुष्ठानसँगै सामाजिक सम्बन्धको पुनर्निर्माण गर्ने अवसर पनि हो।

बिर्सती मेलाको एउटा ठूलो सम्पदा स्थानीय भाषा र शब्दावली हो। ‘तिउडो’, ‘छोर्याटा’, ‘छोर्याटिका’, ‘भारीखेल’, ‘चाभाइ’जस्ता शब्दमा स्थानीय सांस्कृतिक अर्थ जोडिएको छ।  बिर्सती मेलामा महिलाको चाभाइ, पुरुष तथा युवाको देउडा,तन्नेरी पुस्ताको ढुस्का, बाजागाजाका प्रस्तोता, फाग गाउने वृद्ध पुस्ता र धार्मिक अनुष्ठानमा सहभागी भक्तजन सबैको योगदान उत्तिकै हुन्छ। 

समयसँगै बिर्सती मेलाको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। आधुनिक मनोरञ्जन, सामाजिक सञ्जाल, मोबाइल फोन, यातायात तथा नयाँ सांस्कृतिक प्रभावले ग्रामीण समाजलाई परिवर्तन गरिरहेको छ। यी परिवर्तनले मेलालाई नयाँ अवसर पनि दिएका छन्। पहिले सीमित क्षेत्रभित्र रहेको सांस्कृतिक कार्यक्रम अहिले भिडियो तथा सामाजिक सञ्जालका माध्यमबाट टाढासम्म पुर्‍याउन सकिन्छ।
बिर्सती मेलाका गीत, फाग, देउडा, चाभाइ, ढुस्का, भारीखेल तथा धार्मिक अनुष्ठानलाई डिजिटल रूपमा अभिलेखिकरण  गर्न जरुरी छ।

पर्यटनको सम्भावना
बझाङको प्राकृतिक सुन्दरता र मौलिक संस्कृति दुवैलाई जोडेर सांस्कृतिक पर्यटनको विकास गर्न सकिन्छ। बिर्सती मेला, थलीदुर्गा मन्दिर, बाठपाला मन्दिर, महालिङ्ग मन्दिर, सुर्मासरोवरलगायत अन्य प्राकृतिक तथा धार्मिक स्थलहरूलाई एउटै सांस्कृतिक मार्ग (सर्किट) मा समेट्न सकिन्छ। यसबाट बाहिरबाट आउने पर्यटकले प्राकृतिक दृश्यावलोकन मात्र होइन, यहाँको स्थानीय संस्कृतिको प्रत्यक्ष अनुभव गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

मेला स्थानीय अर्थतन्त्रका लागि पनि समृद्धिको ठूलो अवसर बन्न सक्छ। यहाँ कृषि उपज, हस्तकलाका वस्तु, परम्परागत सामग्री, स्थानीय परिकार, रैथाने बाली, फलामका भाँडाकुडा र दैनिक उपभोग्य वस्तुको प्रदर्शनी तथा बिक्रीवितरण गर्न सकिन्छ।

हजुरबुबा–हजुरआमाले जानेका फागहरू नातिनातिनाले सुन्छन्। आमाबुबाले खेल्ने 'चाभाइ' नयाँ पुस्ताले हेर्छ। युवाहरू देउडा खेलेर रमाउँछन् भने वृद्धवृद्धाहरू त्यसलाई सम्झेर विगतमा पुग्छन्। यही अनवरत प्रक्रिया नै संस्कृतिको निरन्तरता हो।

नेपालको इतिहास लेख्दा प्रायः दरबार, युद्ध, राज्य र ठूला राजनीतिक घटनाहरूमा मात्र ध्यान केन्द्रित हुने गरेको पाइन्छ। तर, गाउँका सामान्य मानिसको जीवन पनि इतिहासकै एक महत्त्वपूर्ण हिस्सा हो। बिर्सती मेलाजस्ता पर्वहरूले तिनै आम जनताको जीवन्त इतिहास बोकेका छन्।

बझाङका यस्ता मौलिक परम्पराले नेपालको समग्र सांस्कृतिक विविधतालाई थप समृद्ध बनाएका छन्। बिर्सती मेलालाई स्थानीय सांस्कृतिक सम्पदाका रूपमा व्यवस्थित अभिलेख गर्नुपर्छ। मेलाको विस्तारसँगै व्यवस्थापन पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। धेरै मानिसको भीडभाड हुने भएकाले सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, यातायात र आकस्मिक सेवाको उचित प्रबन्ध गर्न सके मेला अझै व्यवस्थित बन्न सक्छ।

थलीनौबिसको बिर्सती मेला बझाङको मात्र नभई सम्पूर्ण सुदूरपश्चिमको सांस्कृतिक सम्पदा हो। यसको संरक्षणले स्थानीय पहिचानलाई बलियो बनाउँछ र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न मद्दत पुर्याउँछ। अन्ततः, राङ्गा जुधाउने परम्परासँगै मेला समापन भए पनि त्यसको सांस्कृतिक स्मृति कहिल्यै मेटिँदैन। यो पुस्ताले पाएको नासोलाई हामीले आगामी पुस्तासम्म हस्तान्तरण गर्नु पर्दछ। मेलाको संरक्षण गर्नु भनेको केवल एउटा पर्व बचाउनु मात्र होइन, बझाङको सांस्कृतिक आत्मालाई सदियौँसम्म जीवित राख्नु हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट