मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
अर्जेन्टिनी फुटबल स्टार तथा कप्तान लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो लामो यात्रा सदाका लागि टुङ्गिएको जानकारी गराएका हुन् ।
फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै मेस्सीले लेखे, “मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबैथोक दिएँ। अब मसँग दिनका लागि थप केही बाँकी छैन। टोलीमा अहिले धेरै राम्रा युवा खेलाडीहरू आइरहेका छन्, जो यहाँ रहन योग्य छन्।”
२० वर्ष लामो आफ्नो स्वर्णिम खेल जीवनको स्मरण गर्दै मेस्सीले आफूलाई निरन्तर माया गर्ने समर्थक, परिवार, प्रशिक्षक र सहकर्मी खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा उत्रिन पाउनु र देशलाई ऐतिहासिक सफलताहरू दिलाउनु आफ्नो जीवनको सधैँ सबैभन्दा गर्वको विषय रहेको उनले उल्लेख गरेका छन् ।
साथै, आफ्नो बुबासँग जोडिएको हालैको एक घटनाले आफूलाई यो कठोर निर्णय लिन थप दृढ बनाएको उनले खुलाए। अबका दिनमा आफू मैदानभित्रबाट नभई बाहिर बसेर राष्ट्रिय टोलीको एक ठूलो समर्थकको रूपमा रहने मेस्सीले प्रष्ट पारेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस