विनाशकारी बाढीपछिको उद्धार तथा राहत कार्य तिब्र पारिएको छ - प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछिको उद्धार तथा राहत कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्। बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले हालसम्मको सरकारी राहत तथा उद्धारको प्रगति विवरण सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको सकुशल उद्धार गरिएको छ भने प्राकृतिक विपद्मा परी १ हजार २५९ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, अझै ५ हजार ८३ जना बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले जानकारी दिएका छन्।
सरकारका मुख्य कदमहरू:
विपद् संकटग्रस्त क्षेत्र घोषणा: सरकारले प्रभावित क्षेत्रलाई आगामी तीन महिनाका लागि 'विपद् संकटग्रस्त क्षेत्र' घोषणा गरेको छ।
नागरिक व्यवस्थापन: नुवाकोट, रसुवा र काठमाडौंका तोकिएका होल्डिङ सेन्टरमार्फत प्रभावित नागरिकको तात्कालिक व्यवस्थापन भइरहेको छ।
अवरुद्ध सडक सुचारु: गल्छी–मुग्लिन र त्रिशूली–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याउन तथा क्षतिग्रस्त पुलको स्थानमा बेलिब्रिज जडान गर्ने कार्यलाई तीव्रता दिइएको छ। प्रधानमन्त्री शाहले यो विपद्लाई जलवायु परिवर्तनको गम्भीर परिणामका रूपमा चित्रित गरेका छन्। यस संकटको घडीमा छिमेकी राष्ट्रहरू भारत र चीनसहित अमेरिका, बेलायत, युरोपेली संघ र अन्य मित्रराष्ट्रहरूबाट प्राप्त भइरहेको ठुलो परिमाणको राहत सामग्री तथा आर्थिक सहयोगप्रति उनले आभार प्रकट गरेका छन्।
साथै, विश्व बैंक र एसियाली विकास बैंक (ADB) ले पनि पुनरुत्थानका लागि सहुलियतपूर्ण कर्जा र अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उपलब्ध सीमित स्रोत-साधनको अधिकतम प्रयोग गर्दै प्रभावित क्षेत्रमा जनजीवन सामान्य तुल्याउन सरकार अहोरात्र खटिरहेको प्रधानमन्त्रीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस