Techie IT
२०८३ भाद्र १३, शनिबार

बाढीको पीडामा खल्लो बन्यो जनैपूर्णिमा


आज देशभर नयाँ जनै (यज्ञोपवीत) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइएको छ। वैदिक परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागोका रूपमा सम्मान गर्दै बिहानैदेखि मठमन्दिर र नदी किनारमा भक्तजनको भीड लागे पनि यस वर्ष पर्वमा कुनै उल्लास छाएन। दुई दिनअघि रसुवा र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको अपार जनधनको क्षतिले सिंगो देशलाई शोकमग्न बनाएको छ।

बाढीका कारण पृथ्वी राजमार्गसहित विभिन्न सडक मार्ग अवरुद्ध हुँदा घर फर्कन योजना बनाएकाहरू गन्तव्यसम्म पुग्न पाएनन्। कीर्तिपुरबाट सधैँझैँ चितवन आफ्ना बुबाआमालाई भेट्न जान नपाएका शोभित अर्याल भन्छन्, “बाढीले पारेको बिचल्ली देखेर मन बेचैन भयो, अर्कोतर्फ पृथ्वी राजमार्ग बिग्रिएका कारण पनि जान सकिएन।”

बुधवार बिहान चीनतर्फबाट लेन्दे खोलामा आएको बाढी रसुवागढी हुँदै नेपाल छिर्दा ठूलो जनधनको क्षति भयो। रसुवाको रसुवागढी, स्याँफ्रुबेसी, टिमुरे तथा नुवाकोटको त्रिशूली, बेत्रावती र देवीघाट क्षेत्रका बस्तीहरूमा ठूलो असर परेको छ। बाढीले तथ्याङ्क राख्ने कार्यालयसमेत बगाएका कारण मानवीय क्षतिको यकिन विवरण आउन सकेको छैन भने प्रारम्भिक अनुमान अनुसार सयौँ नागरिक बेपत्ता छन्।

यस वर्षको जनैपूर्णिमाको तिथि गोसाइँकुण्ड मेला र मानसरोवर जाने याम पनि भएकाले त्यसतर्फ गएका तीर्थयात्रीहरू बाढीको चपेटामा परेको आशङ्का गरिएको छ। भोटेकोशीबाट सुरु भएको बाढी त्रिशूली हुँदै नारायणी नदीसम्मै पुगेको छ।

विपदको यो घडीमा नेपाली सेना र नेपाल प्रहरीका टोलीहरू उद्धार, खोजी र राहत वितरणमा अहोरात्र खटिएका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रभावित जिल्लाहरूमा फसेका व्यक्तिहरूको उद्धार र आपत्कालीन उपचारको काम युद्धस्तरमा भइरहेको बताएका छन्। त्यस्तै, नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने र अवरुद्ध मार्गहरू खुलाउने प्रयास जारी रहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट