नयाँ बजेट पूर्ण जनपक्षीय हुन्छ, गडबडीको कल्पना पनि नगर्नुस् - मन्त्री भण्डारी
धनगढी: सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन बहादुर भण्डारीले यसपालिको विशेष परिस्थितिमा आउने बजेट पूर्ण रूपमा जनपक्षीय र आवश्यकतामा आधारित भएर विनियोजन हुने बताएका छन्। रैवारप्रेससँग कुरा गर्दै मन्त्री भण्डारीले बजेटमा कुनै पनि किसिमको छेडखानी हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्।
मन्त्री भण्डारीले भने, “यो सरकार विशेष परिस्थितिमा बनेको हो। अनियमितताका विरुद्ध लडेर नै नयाँ बजेट ल्याउनु परेकाले जनताको दैनिक जीवनसँग जोडिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कुनै गडबढी हुनेछ भनेर कसैले पनि कल्पना नगर्दा हुन्छ ।”
मन्त्री भण्डारीले विगतका वर्षहरूमा झैँ यसपालि पनि कुनै पनि निजी फर्म वा उपभोक्ता समितिले काम गर्ने खालका योजना तथा बजेट विनियोजन गर्न कानुनी रूपमै बन्देज रहेको र उक्त प्रावधानलाई निरन्तरता दिइने बताएका छन्। यसअघि यस मन्त्रालयले सम्बन्धित जिल्ला कार्यालयहरूमा बजेट पठाएर उतैबाट कार्यान्वयन गराउने अभ्यास रहँदै आएको छ।
आफ्नो राजनीतिक जीवन इमानदारी, पारदर्शिता र निष्पक्षताका आधारमा यहाँसम्म आइपुगेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफ्नो मन्त्रालयबाट कुनै पनि अनियमित गतिविधि भएमा जो कोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस