माओवादी नेताहरूको सम्पत्ति स्वतन्त्र व्यक्तिबाट छानबिन गरौं - नेता प्रभाकर
“हामी अहिले जनताको प्रश्न सुन्न छाडेका छाैँ, जनताले प्रश्न गर्छन्, हामी कान थुनेर बस्छौं ।”

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी नेताहरूको सम्पत्तिको छानबिन गर्न स्वतन्त्र व्यक्तिलाई जिम्मा दिनुपर्ने प्रस्ताव राखेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले पार्टीभित्र पारदर्शिता कायम गर्न आवश्यक रहेको बताए ।
उनले भने, “मैले पार्टीमा नेताहरूको सम्पत्ति छानबिन गरी पारदर्शी बनौं, र पार्टीले होइन, स्वतन्त्र व्यक्तिलाई छानबिनको जिम्मा दिऔं भनेको छु । बाहिर सुशासनका कुरा गर्ने हामी आफैँ अपारदर्शी भएर हुँदैन।”
शर्माले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीबाहेकका अधिकांश कम्युनिस्ट नेताहरू भ्रष्टाचारमा मुछिएको आरोप पनि लगाए । उनले रातारात अर्बपति बन्ने प्रवृत्ति र राज्यदोहनलाई कम्युनिस्ट नेताहरूको चरित्रका रूपमा चित्रण गरे ।
पार्टी नेतृत्वप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । उनले नेतृत्व सामन्ती र निरंकुश बन्दै गएको आरोप लगाउँदै भने, “पार्टीभित्र जयजयकार गर्ने, सलामी दिने प्रवृत्तिले नेतृत्वलाई अझै बढी घमण्डी बनाएको छ ।” कार्यकर्ताहरू नेताहरूको आलोचना गर्न नसक्ने अवस्था आएको र नेतृत्व पनि आफूलाई घेरिरहेका प्रशंसकहरूमै रमाउन थालेको शर्माको भनाइ छ ।
उनले थपे, “हामी अहिले जनताको प्रश्न सुन्न छाडेका छाैँ, जनताले प्रश्न गर्छन्, हामी कान थुनेर बस्छौं ।”
शर्माले कम्युनिस्ट पार्टीमा जनवाद समाप्त भइसकेको र केवल केन्द्रीयता बाँकी रहेको आरोप लगाए । संसदमा समेत सांसदहरूको अभिव्यक्ति स्वतन्त्रता खोसिएको उनको टिप्पणी गरेका थिए । पार्टीको ह्वीप प्रणालीले विचार अभिव्यक्तिमा प्रतिबन्ध लगाएको भन्दै उनले त्यसलाई “जनप्रतिनिधिमाथिको नियन्त्रण” को संज्ञा दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस