माओवादी केन्द्रले तय गर्यो स्थायी कमिटीको बैठकका एजेन्डा

नेकपा (माओवादी केन्द्र) ले आउँदो स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारदेखि सुरु हुने स्थायी कमिटी बैठकका एजेन्डा निर्धारण गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
‘ठूलो कमिटीको बैठक बस्नुअघि एजेन्डा तय गरिन्छ। पर्सि बस्ने स्थायी कमिटी बैठकमा पार्टी मुख्यालयतर्फबाट वर्तमान राजनीतिक परिस्थिति र पार्टीको अवस्था बारे प्रारम्भिक ब्रिफिङ हुनेछ,’ सापकोटाले भने।
उनका अनुसार पोखरामा आएर रोकिएको पार्टी अभियानलाई पुनः सक्रिय बनाउने, आन्तरिक एकतालाई मजबुत बनाउने, समाजवादी मोर्चाका विषयमा आवश्यक छलफल गर्ने लगायतका एजेन्डा तय गरिएको छ।
माओवादी केन्द्रको मध्यपहाडी अभियान पोखरामा आएर रोकिएको छ, त्यसलाई निरन्तरता दिने विषयमा छलफल हुनेछ । साथै, केन्द्रीय कमिटी बैठकको मिति पनि तय गरिने सापकोटाले बताए ।
उनले संगठन निर्माण, नेताहरूको कार्यविभाजन, वर्तमान राजनीतिक अवस्था र समसामयिक प्रस्तावहरूबारे छलफल र निर्णय गरिने जानकारी समेत दिए।
तपाईको प्रतिक्रिया दिनुहोस