रेशमको रणनीति सफल : रञ्जिता अध्यक्षबाट पदमुक्त
नाउपाका नेताहरूका अनुसार, अध्यक्ष पदबाट हटाउने निर्णय पछाडि पछिल्ला विवाद मात्र नभई विगतका गतिविधिहरू पनि जोडिएका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ अन्ततः अध्यक्ष पदबाट पदमुक्त भएकी छन्। पार्टी संरक्षकसमेत रहेका उनका पति रेशम चौधरीलाई पार्टी सदस्य बन्न अयोग्य भन्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेपछि, चौधरी पक्षधर बहुमत केन्द्रीय सदस्यहरूले उनलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेका हुन्।
बुधवार भैरहवामा सम्पन्न राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो। यद्यपि, कानुनी प्रक्रिया र निर्वाचन आयोगको निर्णयअनुसार अन्तिम टुंगो बिहीबार लाग्ने नेताहरूले जनाएका छन्।
पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठले अदालतमा दिएको लिखित जवाफमा भनेकी थिइन्, “जन्मकैदको सजाय भोगिरहेको अवस्थामा राजनैतिक दलको सदस्यता सम्भव छैन। महाधिवेशनको भागीदार हुन पाउने अवस्था पनि थिएन।” यो जवाफपछि पार्टीभित्र विवाद झनै चुलिएको थियो।
रेशम चौधरीले २०८० पुसमा सम्पन्न महाधिवेशन अनुसारको कार्यसमितिलाई मान्यता दिन माग गर्दै सर्वोच्च गएका थिए। निर्वाचन आयोगले भने उक्त महाधिवेशनबाट रेशमलाई अध्यक्षको रूपमा मान्यता दिन अस्वीकार गरेको थियो।
रेशम चौधरीले आज १४ साउनमा बोलाएको राष्ट्रिय भेलाबाट अध्यक्ष रञ्जितालाई पदीय भूमिकाबाट हटाउने निर्णय पारित भएको हो। उक्त भेलामा केन्द्रीय सदस्य, संघ तथा प्रदेश सांसदहरूको उपस्थिति थियो । रञ्जिता निकट कोमल ज्ञवाली पनि भेलामा सहभागी भएनन् ।
नाउपाका नेताहरूका अनुसार, अध्यक्ष पदबाट हटाउने निर्णय पछाडि पछिल्ला विवाद मात्र नभई विगतका गतिविधिहरू पनि जोडिएका छन् । भूमि व्यवस्थापन मन्त्री रहँदा मालपोत सरुवामा मुछिएकोदेखि, पोखराका विचौलियासँग समन्वय गरी काम अगाडि बढाएको आरोपसमेत रञ्जितामाथि लागेको छ । सो प्रकरणमा अख्तियारले उनलाई बयानका लागि पनि बोलाएको थियो।
यही विवादकै कारण गत असारमा रञ्जितालाई संसदीय दलको नेताबाट हटाएर गंगाराम चौधरीलाई दलको नेता बनाइएको थियो। पार्टी महासचिव ठाकुरसिंह थारुले रञ्जिताद्वारा कार्यवाहक अध्यक्षमा शिव बास्तोलालाई मनोनयन गरिएको निर्णय गैरविधानिक रहेको बताएका छन् । उनका अनुसार, पार्टी विधानअनुसार वरिष्ठ नेतालाई मात्र कार्यवाहक बनाउन सकिन्छ ।
रेशम र रञ्जिताबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो । सरकारमा सहभागिताको विषयदेखि पार्टी एकतासम्बन्धी सहमतिसम्मको विषयमा उनीहरू फरक धारमा उभिँदै आएका थिए । जनमत पार्टीसँगको एकता प्रस्तावमा समेत रञ्जिता असन्तुष्ट रहेको खुलेको छ ।
यद्यपि, २०८१ असोजमा पार्टी बैठकमार्फत आपसी विवाद मिलाएर एक हुने घोषणा गरिएको थियो । हस्ताक्षरित सहमतिमा भनिएको थियो, “आपसी मतभेद मत्थर गरी हामी एक भएका छौं र एक रहनेछौं।”
तर, त्यसयता विवाद फेरि चर्किँदै गएको छ । पार्टीभित्र समानान्तर गतिविधि, आरोप-प्रत्यारोप, हात हालाहाल र भावनात्मक अभिव्यक्तिसम्मको अवस्था आइपुगेपछि अन्ततः रञ्जिता श्रेष्ठ अध्यक्ष पदबाट हटाइएकी हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस