Techie IT
२०८२ भाद्र २८, शनिबार

नेपाल–खनाल टकरावले एकीकृत समाजवादीको अस्तित्व संकटमा


नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सार्वजनिक रूपमा चलेको आरोप–प्रत्यारोपले पार्टीको अस्तित्वमै प्रश्न उठाएको छ । लामो समयदेखि गुम्सिँदै आएको वैचारिक द्वन्द्व, साङ्गठनिक अस्थिरता र नेतृत्वप्रतिको अविश्वास अब खुल्ला टकरावमा रूपान्तरण भएको छ ।

एक अन्तर्वार्तामा खनालले अध्यक्ष नेपालको राजीनामा सार्वजनिक रूपमा माग गरेपछि, नेपालले खनालप्रति “पार्टीमा रहने नैतिक आधार सकिएको” प्रतिक्रिया दिएका छन्। यी प्रतिक्रियाहरूले नेकपा (एस) भित्र गम्भीर आत्मसमीक्षा र पुनर्गठनको आवश्यकता औंल्याएका छन्।

खनालले पार्टीको स्थापना प्रक्रिया नै वैधानिक नभएको आरोप लगाएका छन्। ‘दक्षिणपन्थी अवसरवाद’ विरुद्धको विद्रोह भनिए पनि त्यो विद्रोह सैद्धान्तिक र राजनीतिक रूपमा पुष्टि गर्न नेतृत्व असफल भएको उनको दाबी छ । उनले “पुष्टि नभएको विद्रोहको अर्थ छैन” भन्दै पार्टीको जन्मलाई व्यक्तिगत टकराव र सत्ता संघर्षको उपजको रूपमा चित्रित गरेका मात्र छैनन् नेता खनालको आरोपले  हजारौं कार्यकर्ताको त्याग र अपेक्षामाथि प्रश्न उठाएको छ ।

खनालले पार्टीको आन्तरिक अवस्था र सांगठनिक जडता देखाउँदै महाधिवेशनपछि १३ महिनासम्म कार्यान्वयन नभएको निर्णय, बन्द भएको पार्टी मुखपत्र, र निष्क्रिय संगठनात्मक जीवनको आलोचना गरेका छन् । उनले यो अवस्था पार्टीलाई निष्क्रिय र दिशाहीन समूहमा परिणत गराउने चेतावनी दिएका छन् ।

खनालले अध्यक्ष नेपालमाथि पार्टी हाँक्न असफल भएको आरोप लगाउँदै पदत्यागको सार्वजनिक माग पनि गरेका छन् । खनालले आफू वैज्ञानिक समाजवाद पक्षधर भएको र नेपालले भने जनताको बहुदलीय जनवाद (जबज) लाई निरन्तरता दिन खोजेको आरोप लगाएका छन् । उनका अनुसार, जबज एमालेको मौलिक विचार हो र त्यसलाई नयाँ दलमा निरन्तरता दिनु वैचारिक प्रतिगमन हो । यसले पार्टीभित्र साझा मार्गदर्शक सिद्धान्तको अभाव देखिएको छ ।

अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दालाई खनालले नैतिकताको सवालमा जोड्दै “सांसद पद निलम्बनमा लाग्ने नियम नेतृत्वमा लागू हुन्छ कि हुँदैन?” भन्ने प्रश्न उठाएका छन् । उनले औपचारिक छलफल विना पार्टी चलाइएको भन्दै पारदर्शिताको अभाव र नेतृत्वको जवाफदेहिता नहुनुमा आपत्ति जनाएका छन्।

खनालले वामपन्थी आन्दोलन एकताबद्ध हुनुपर्ने तर्क गर्दै आफू कार्यगत एकताको पक्षमा रहेको बताए । तर एमाले नेतृत्वको ‘दमनकारी चिन्तन’ रहेको भन्दै तत्कालीन एकीकरणको सम्भावना नदेखिएको बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट