Techie IT
२०८२ श्रावण १९, सोमबार

माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्मालाई एक्ल्याउने रणनीति

माओवादी केन्द्र भित्रको यो उकुसमुकुसले पार्टीलाई भने लोकतान्त्रिक विधिमा चल्न र चुस्त संगठन बनाउन बाधा पुगेको विश्लेषकहरुले बताएका छन् ।


नेकपा (माओवादी केन्द्र) भित्रको पछिल्लो आन्तरिक कलहका बीच उपमहासचिव जनार्दन शर्मालाई एक्ल्याउने रणनीति अघि बढाइएको देखिएको छ । पार्टीको आन्तरिक विषयवस्तु सार्वजनिक रुपमा उठाउँदै हिँडेको आरोप लगाउँदै उनलाई आत्मालोचना गर्न दबाब दिने क्रम तीव्र भएको छ ।

शनिबार एक सार्वजनिक कार्यक्रममा उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाललाई 'युगनायक' भन्दै व्यक्त गरेको समर्थन र नेताहरूले पार्टीभित्र रिस उठे पनि बाहिर आलोचना गर्न नहुने धारणा राख्नुले शर्माविरुद्धको रणनीतिको संकेत दिएको छ ।

शर्माले नेतृत्वबारे सार्वजनिकरूपमा दिएका अभिव्यक्तिमाथि स्थायी समितिमा छलफल भइरहेको बेला पुनको अभिव्यक्ति आएको हो । स्थायी समितिका एक सदस्यका अनुसार अधिकांश नेताहरूले आन्तरिक विषय बाहिर लैजान नहुने र पार्टीभित्रै छलफल गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा सहभागी स्थायी समिति सदस्यहरू — कुलप्रसाद केसी, जोखबहादुर महरा, खगराज भट्ट, विश्वनाथ साह लगायत १८ जना र पाँच पदाधिकारीले धारणा राखेका छन् । बैठक आइतबार पनि जारी रहनेछ ।

स्थायी समिति सदस्य राम कार्कीले बैठक संयमित र सकारात्मक ढंगले अघि बढिरहेको बताएका छन् । “शर्माजीलाई पार्टीबाहिर विषय नउठाउन सुझाव आएको हो । यसलाई आत्मालोचनाभन्दा सुधारको अवसरका रूपमा लिनुपर्छ,” उनले भने ।

उनका अनुसार बैठकमा विशेष महाधिवेशनसम्बन्धी प्रस्तावहरू पनि उठेका छन्, तर त्योबारे एकमत भने देखिएको छैन ।

शनिबार बैठकमा धारणा राख्ने नेताहरूले अध्यक्ष दाहालको प्रधानमन्त्री कालखण्डमा गरिएको कामको प्रशंसा गर्दै भ्रष्टाचार नियन्त्रण प्रयासको बचाउ गरेका थिए । तर, पार्टी सुदृढीकरण र रणनीतिक विषयमा भने गम्भीर छलफल नभएको स्थायी समितिका एक सदस्यले बताए ।

उपमहासचिव जनार्दन शर्माको आलोचना गर्दै गणेशमान पुन, सत्या पहाडी, कमला रोकालगायत नेताहरूले पार्टीभित्र गुट देखिने गरी धारणा सार्वजनिक गर्नु गलत भएको बताए । अञ्जना विशंखेले पार्टी विधि र विधान अनुसार सञ्चालन हुनुपर्ने र शीर्ष नेताबाटै अनुशासन पालना हुनुपर्नेमा जोड दिएकी थिइन् ।

शर्माले केही दिनअघि पुष्पलाल स्मृति दिवसमा अध्यक्ष दाहालको नाम नलिए पनि ‘कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्ट छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । उनले मनमोहन अधिकारीबाहेक अरू सबै नेतामाथि असुली धन्दाको आरोप लगाएका थिए, जसले पार्टीभित्र तीव्र बहस जन्माएको हो ।

पार्टी नेतृत्वको पुस्तान्तरणबारे शर्माले उठाउँदै आएको विषय अहिले थप पेचिलो बन्दै गएको छ । करिब ३७ वर्षदेखि नेतृत्व सम्हाल्दै आएका अध्यक्ष दाहालको निरन्तर नेतृत्वविरुद्ध विशेष महाधिवेशनको माग उठिरहेका छन् ।

शुक्रबारको पदाधिकारी बैठकमा शर्माले चारबुँदे प्रस्ताव पेस गर्दा महासचिव देव गुरुङले ‘आन्तरिक एकता’ शीर्षकमा प्रस्ताव समेटेका थिए, जुन शनिबारको बैठकमा पुनः प्रस्तुत भएको छ । दाहालले पनि अध्यक्षको हैसियतमा स्वार्थ समूह र गुटबन्दी अन्त्य गर्ने प्रस्ताव राखेका थिए, जसमा अधिकांश सदस्यहरूको समर्थन देखिएको थियो।

शनिबारको बैठकमा उपमहासचिव शर्माले धारणा राखेनन् । स्थायी समितिका एक सदस्यका अनुसार अध्यक्ष प्रचण्डले सबैलाई धारणा राख्न आग्रह गरे पनि शर्माले मौन बसेका थिए ।

बैठकमा सहभागी अधिकतर नेताहरूले माओवादी केन्द्रले अगाडि बढाएको समाजवादी मोर्चाको एकता प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखेका थिए । सचिव राम कार्कीले भने पार्टी नेतृत्वले आफ्ना कमजोरी पनि आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्दै शर्माको दृष्टिकोणलाई परोक्ष समर्थन दिएका थिए । जारी स्थायी कमिटीको बैठकमा राम कार्की वाहेक अरु नेताहरु जनार्दन शर्मा “प्रभाकर” को पक्षमा बोलेका छैनन् । कतिपयले यसलाई हेडक्वाटरले नै प्रभाकर लाई एकल्याउने रणनीति अनुसार बैठकमा नेताहरू प्रस्तुत भएका अनुमान गरेका छन् । 

एक स्थायी कमिटी सदस्यका अनुसार अहिले नेकपा (माओवादी केन्द्र) मा अध्यक्ष प्रचण्डको विरोध गर्नु भनेको उसको राजनीति धरापमा पर्नु जस्तै भएकाले वाहिरि अनौपचारिकरूपमा प्रचण्डले नेतृत्व छोड्नुपर्छ भन्ने गरेपनि प्रचण्डको अगाडी जनार्दन वाहेक कोहि ठाडो गरि बोल्न नसक्ने बताएका छन् । माओवादी केन्द्र भित्रको यो उकुसमुकुसले पार्टीलाई भने लोकतान्त्रिक विधिमा चल्न र चुस्त संगठन बनाउन बाधा पुगेको विश्लेषकहरुले बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट