Techie IT
२०८२ भाद्र ७, शनिबार

कर्णालीमा कांग्रेसको भूमिका प्रतिपक्षजस्तै देखिन्छ : एमाले संसदीय दल


नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धनको भावना विपरीत आचरण गरेको निष्कर्ष निकालेको छ।

विहीबार प्रदेशसभा भवनस्थित दलको कार्यालयमा बसेको बैठकले कांग्रेसले सरकार सञ्चालनमा सहकार्यभन्दा असहयोग बढी गरेको आरोप लगाएको हो। बैठकमा सहभागी नेताहरूका अनुसार, सरकारमा सहभागी कांग्रेसले प्रशासनिक, नीतिगत र संसदीय कामकारबाहीमा समेत असहज वातावरण सिर्जना गरेको छ।

एमाले प्रमुख सचेतक टेकराज पछाईले कांग्रेसको भूमिका सत्तासाझेदारभन्दा प्रतिपक्षजस्तो देखिएको टिप्पणी गरे। “सत्ता सहकार्यको विषयमा गम्भीर समीक्षा भयो,” उनले भने, “कांग्रेसको जे भूमिका हुनुपर्ने थियो, त्यो देखिएन भन्ने निष्कर्ष बैठकमा निस्किएको हो।”

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसले आर्थिक मामिलासहित चार मन्त्रालय लिएको छ। सत्ता सहकार्य भएको एक वर्ष बितिसक्दा पनि दुई दलबीच सम्बन्धमा समन्वय र विश्वासको अभाव देखिएको एमालेको आरोप छ।

बैठकमा सहभागी नेताहरूका अनुसार, कांग्रेस दलका नेता जीवनबहादुर शाहीले पटक–पटक सार्वजनिक रूपमा सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको, मन्त्रिपरिषद्कै निर्णयमा असहमति जनाउने, र मन्त्रीहरूले नै सरकारविरुद्ध बोलेको घटनाले सत्ता साझेदारीमा खलल पुगेको छ।

एमालेका अनुसार, प्रशासन चुस्त बनाउन तयार गरिएको संगठन तथा व्यवस्थापन प्रतिवेदन कार्यान्वयन हुन नदिन कांग्रेसले अवरोध गरेको छ। साथै, महत्वपूर्ण राजनीतिक नियुक्तिहरूमा सहमति नजनाउने, सामान्य विषयमा समेत सदनमा अवरोध गर्ने कार्यले संयुक्त सरकारको भावना विपरीत भएको एमालेको निष्कर्ष छ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता यामलाल कँडेल, कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलगायत १० जना एमाले सांसद सहभागी थिए। कर्णाली प्रदेशसभामा एमालेका १० जना सांसद छन्।

एमालेले अबको दिनमा सत्ता साझेदारीको समीक्षा गर्दै कांग्रेससँग स्पष्ट धारणाका साथ अगाडि बढ्ने संकेत दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट