माओवादी केन्द्रको सर्कुलर - जनार्दन शर्माले आत्मालोचना गरेनन्

नेकपा माओवादी केन्द्रले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध लगाएका आरोपलाई निराधार भन्दै खारेज गरेको भनि सर्कुलर जारी गरेको छ ।
१६ साउनदेखि बसेको स्थायी समिति बैठकका निष्कर्षबारे तल्ला कमिटीहरूलाई पठाइएको सर्कुलर अनुसार शर्माले पटक–पटक आत्मालोचना गर्न आग्रह गर्दा पनि नमानेर उल्टै नेतृत्वमाथि आरोप लगाएको बताइएको छ । बैठकमा पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकको माइन्युटमा हस्ताक्षर नगर्ने, र गुटबन्दीजन्य गतिविधि सञ्चालन गर्ने कार्यहरू नीति विपरीत भएको ठहर गरिएको छ।
अध्यक्ष प्रचण्डले बैठकको अन्तिमसम्म पनि कमजोरी सच्याउन आग्रह गरे पनि, शर्माले माइन्युटमा हस्ताक्षर नगरेको विषयबाहेक अन्यबारे आत्मालोचना नगरेको सर्कुलरमा भनिएको छ।
बैठकले गुट र स्वार्थ समूह विघटन गर्ने, पार्टी निर्णय विपरीत सामाजिक सञ्जाल वा सार्वजनिक प्रचारमार्फत पार्टी र आन्दोलनलाई कमजोर पार्ने गतिविधिमाथि रोक लगाउने, र त्यस्ता गतिविधि गर्ने जो–कोहीलाई अनुशासनको कारबाहीमा ल्याउने निर्णय गरेको छ।
शर्माले यसअघि ६ साउनमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका कम्युनिस्ट प्रधानमन्त्रीहरूले ‘असुली धन्दा’ चलाएको आरोप लगाएका थिए। उनले मनमोहन अधिकारीबाहेक कोही पनि राम्रा नभएको टिप्पणी गरेका थिए, जसपछि माओवादीभित्र उनको चर्को आलोचना सुरु भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस