प्रवक्ता शाहीद्वारा परराष्ट्र मन्त्रीको राजीनामा माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्।
शाहीले इजरायलमा हमासको कब्जामा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि सरकार र परराष्ट्र मन्त्रालयले प्रभावकारी पहल नगरेको आरोप लगाउँदै मन्त्रीको राजीनामा माग गरेका हुन्। उनले विपिनका आमा र बहिनीको कारुणिक अवस्थाप्रति सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत शाहीले लेखेका छन्– “नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन।”
उनले विशेषगरी विपिन जोशीको सकुशल उद्धारका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न, जोशीको परिवारलाई मानसिक तथा कूटनीतिक सहयोग उपलब्ध गराउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन रणनीति बनाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन्।
शाहीको मागले विपिन जोशी उद्धारको विषयलाई पुनः चर्काएको छ र सरकार तथा परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमाथि थप प्रश्न खडा गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस