‘वरिष्ठ नेता’ पद मन परेको छैन - वामदेव गौतम

नेकपा एसका वरिष्ठ नेता वामदेव गौतमले आफूलाई दिइएको ‘वरिष्ठ नेता’ पद मन नपरेको बताएका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमले ‘वरिष्ठ’ भन्ने पद जनतासँग प्रत्यक्ष जोडिन नसक्ने दाबी गर्दै आफू जिम्मेवारीप्रति बढी चिन्तित रहेको बताए।
उनका अनुसार ‘वरिष्ठ’ भन्नाले अग्रज वा बुढो भएको अर्थ लाग्छ, जुन त आफू पहिल्यैदेखि हो भन्ने स्पष्ट गर्दै उनले भने, “महत्वपूर्ण कुरा भनेको जिम्मेवारी हो। आइ त सकियो, अब पार्टीको संरचनाअनुसार जिम्मेवारी लिनुपर्छ भनेरै मात्रै हो, मैले खुसी भएर यो पद बोक्ने चाहना गरेको होइन।”
गौतमले कम्युनिस्ट पार्टीले जनतासँग प्रत्यक्ष जोडिने खालका पद सिर्जना गर्नुपर्ने र पदले व्यक्तिको काम झल्काउनुपर्ने आवश्यकता औंल्याए।
यसै क्रममा उनले नेकपा एसभित्र दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई अस्थिर भन्ने आलोचकलाई जवाफ पनि दिए। उनले भने, “अब मेरो चित्त बुझेन भनेर फर्किने अवस्था छैन। मलाई एक ठाउँमा खुट्टा टेकेन भन्छन्। अब म त्यस्तो भन्न दिने छैन।”
उनले पार्टी बलियो बनाउन आन्तरिक संघर्ष आवश्यक हुने भन्दै पार्टीका शीर्ष नेता माधव नेपाल र झलनाथ खनालबीच संवाद गराउने पहल गरेको बताए। साथै, एमालेसँग विद्रोहको विषयमा पार्टीभित्रै छलफल गरेर स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिए।
तपाईको प्रतिक्रिया दिनुहोस