Techie IT
२०८२ भाद्र १०, मंगलबार

मदन भण्डारीप्रति ओलीको टिप्पणीले चित्त दुख्यो : पूर्वराष्ट्रपति भण्डारी


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत नेता मदन भण्डारीलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झासँग भेट्दा उनले प्रधानमन्त्री ओलीले मदन भण्डारीमाथि अनावश्यक आक्षेप लगाएको बताएकी हुन्।

झाले भने, “प्रधानमन्त्रीले मदन भण्डारीका चार श्रीमती र सहकारी ठगीको विषय उठाउनुभएकोप्रति पूर्वराष्ट्रपति भण्डारी अचम्मित देखिनुभयो।”

उनका अनुसार भण्डारीले आफू र छोरीहरू सहभागी भएको सभामा यसअघि कहिल्यै नउठेको विषयलाई प्रधानमन्त्रीले उठाएको भन्दै चित्त नबुझाएको व्यक्त गरिन्। त्यतिबेला सहकारी सञ्चालन नै नभएको तथ्य स्मरण गराउँदै उनले प्रधानमन्त्रीको बोलीप्रति असन्तुष्टि प्रकट गरेकी थिइन्।

रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणका कारण जेलमा रहेका विषयमा पनि भेटमा चर्चा भएको झाले जानकारी दिए। सो क्रममा भण्डारीले सहकारीमा समस्या त रहे पनि त्यसलाई अनावश्यक रूपमा राजनीतिक मुद्दा बनाइएका कारण असन्तुष्टि व्यक्त गरेको बताइन्।

झाले थपे, “सहकारीको समाधान खोज्नुको साटो यसलाई राजनीतिकरण गरिएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। उहाँले रविप्रति पनि सद्भाव राख्नुभएको छ।”

भेटघाटका लागि झा भण्डारीको बूढानीकलालस्थित भंगाल निवास पुगेका थिए। करिब एक घण्टा संवाद भएको उनले बताए।

नयाँ पुस्ता राजनीतिमा प्रवेश गर्नुपर्छ भन्ने कुरामा पूर्वराष्ट्रपति भण्डारी सकारात्मक रहेको समेत झाले जानकारी दिए। उनका अनुसार, भण्डारीले नयाँ पुस्ताका नेताहरूलाई सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट