Techie IT
२०८२ भाद्र १२, बिहीबार

अन्तर्विरोध चर्किँदै: प्रचण्ड नेतृत्वमा जनार्दनबिनै माओवादीको मध्यपहाडी अभियान


साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले जनतामाझ माओवादी जनजागरण अभियानका बाँकी रहेका जिल्लाहरूमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

महासचिव देवप्रसाद गुरुङले बुधबार पठाएको सर्कुलर अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली भदौ २१ गते लमजुङ पुग्नेछ। यसपटक अभियान टोलीमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिव मात्रै रहने व्यवस्था गरिएको छ । यसअघिका अभियानमा उपमहासचिवसम्म सहभागी हुने व्यवस्था भए पनि भदौ ३ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिवसम्म मात्र सहभागी हुने निर्णय गरेको हो ।

गुरुङका अनुसार नेताहरूको व्यवस्थापन र कार्यविभाजन सहज बनाउन अभियान टोलीलाई सानो र चुस्त बनाइएको हो । उनले भने, “तराई–मधेस हुलाकी मार्ग केन्द्रित अभियानको पहिलो चरणमा उपमहासचिवसम्म सहभागी भएका थिए । तर अभियान टोली ठूलो हुँदा व्यवस्थापनमा समस्या देखिएकाले यसपटक उपमहासचिवसम्मलाई सहभागी नगराइने निर्णय गरिएको हो ।”

हाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच बढ्दो अन्तरविरोधबीच अभियान टोली सानो पारिएको भन्दै विभिन्न अड्कलबाजी भए पनि पार्टीभित्रको विवादका कारण यस्तो निर्णय नभएको गुरुङले प्रष्ट पारेका छन् ।

माओवादीको पहिलो चरणको अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भई वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको थियो। दोस्रो चरणको मध्यपहाडी लोकमार्ग अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरु भए पनि जेठ १० गते पोखरामा आइ स्थगित भएको थियो। जेठ १६ गतेको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म पुनः सञ्चालन गर्ने निर्णय गरे पनि मौसमी प्रतिकूलताका कारण स्थगित गरिएको थियो।

गुरुङले फेरि पनि मौसमी प्रतिकूलता आए अभियान स्थगित हुन सक्ने बताए। उनका अनुसार भदौ २२ गते लमजुङ, २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा कार्यक्रम सम्पन्न गरी टोली काठमाडौँ फर्किनेछ। बाँकी जिल्लामा भने पछि कार्यक्रम तय गरिनेछ।

प्रत्येक जिल्लामा एक सार्वजनिक संवाद कार्यक्रम र एक आन्तरिक संगठनात्मक तथा प्रशिक्षणमूलक कार्यक्रम हुनेछन्। मौसमलाई ध्यानमा राख्दै ठूला हलहरूमा कार्यक्रम आयोजना गर्ने र त्यस्ता कार्यक्रममा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागिता सुनिश्चित गर्ने सर्कुलरमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट