एमाले दोस्रो विधान महाधिवेशन
एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु, के–के हुँदैछ ?
यसअघिका कार्यक्रमझैं विधान महाधिवेशनमा पनि अध्यक्ष ओली नै आकर्षणको केन्द्र हुने

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज (भदौ २० गते) ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे विशेष समारोहबीच महाधिवेशन उद्घाटन गर्ने तय भएको छ।
तीन दिनसम्म चल्ने महाधिवेशन भदौ २२ गतेसम्म सञ्चालन हुनेछ। देशभरिबाट आएका प्रतिनिधि र आयोजक गरी करिब २ हजार ३ सयभन्दा बढी सहभागी हुने एमालेले जनाएको छ। प्रतिनिधिहरूलाई बिहान ९ बजेदेखि नै सभास्थलमा उपस्थित हुन निर्देशन दिइएको छ।
उद्घाटन सत्रपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। यससँगै अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका प्रतिवेदन पनि महाधिवेशनमा पेस हुनेछन्।
यसपटक स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गरेको ३२ पृष्ठ लामो फरक मत पनि महाधिवेशनको एजेन्डामा राखिएको छ। उनले पार्टीका अघिल्ला निर्णय, घटनाक्रम, बहुदलीय जनवादको रक्षा, ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधानबारे पुनः छलफल गर्नुपर्ने माग गरेका छन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगरेको विषयसमेत फरक मतमा समावेश छ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथि भदौ २१ गते समूहगत छलफल हुनेछ भने ती छलफलका निष्कर्षलाई भदौ २२ गतेदेखि प्रस्तुत गरिनेछ। त्यसपछि प्रतिनिधिहरूले राखेका जिज्ञासामा नेताहरूले जवाफ दिनेछन्। अन्तिम दिन केन्द्रीय निर्वाचन आयोगमार्फत निर्वाचन गरी प्रतिवेदन पारित गर्दै महाधिवेशन सम्पन्न गरिने एमालेले जनाएको छ।
यसपटकको महाधिवेशनमा प्रवेश प्रक्रिया डिजिटल गरिएको छ। प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक सबैले क्यूआर स्क्यान गरेर मात्र हल प्रवेश गर्न पाउनेछन्। त्यसका लागि ६ वटा कम्प्युटर बुथ स्थापना गरिएको छ। स्क्यान प्रणालीमार्फत उपस्थिति विवरण (एटेडेन्स डेटा) पनि संकलन गरिनेछ।
मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठका अनुसार, “कार्ड मात्रले पहिचान हुन नसक्ने भएकाले क्यूआर स्क्यान प्रणालीमार्फत प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकलाई छुट्याइएको हो।”
सनराइज सम्मेलन केन्द्रमा २ हजार ८४० सिट क्षमताको हल तयार गरिएको छ। कुल ४ वटा प्रवेशद्वारमध्ये पहिलो द्वार अध्यक्ष ओलीका लागि मात्र खुला रहनेछ। अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री र प्रतिनिधिहरू दोस्रो र तेस्रो द्वारबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। चौथो द्वार क्याटरिङ र खाद्यान्न ढुवानीका लागि छुट्याइएको छ।
गोदावरी बसपार्कदेखि सभास्थलसम्म ५०० मिटर दूरीमा तीनवटा विशेष प्रवेश गेट निर्माण गरिएको छ। काठमाडौंका विभिन्न नाकादेखि महाधिवेशन स्थलसम्म पोस्टर, झण्डा र ब्यानर टाँगेर एमालेले महाधिवेशनलाई ‘महाउत्सव’को स्वरूप दिएको छ।
यसअघिका कार्यक्रमझैं विधान महाधिवेशनमा पनि अध्यक्ष ओली नै आकर्षणको केन्द्र हुने एमाले स्रोत बताउँछ। उद्घाटनदेखि प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसम्म उनको भूमिका केन्द्रीय रहनेछ । पार्टीका अन्य नेताहरूको भन्दा ओलीको प्रवेश र भाषणलाई विशेष महत्व दिइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस