Techie IT
२०८२ पौष १, मंगलबार

रास्वपाले डा. लेखजंगलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति संवेदनहीनता


महिला सुरक्षा दबाब समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. लेखजंग थापालाई रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनाएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ।

समूहले बिहीबार जारी गरेको विज्ञप्तिमा डा. थापामाथि कानुनी रूपमा पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै सार्वजनिक रूपमा कानुनी र नैतिक प्रश्न उठेको उल्लेख गरेको छ । यस्तो व्यक्तिलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त उदाहरण भएको समूहले ठहर गरेको छ।

समूहका अध्यक्ष इरादा गौतमले हस्ताक्षर गरेको विज्ञप्तिका अनुसार डा. थापाले पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेका थिए । विवाहको ९ वर्षपछि कान्छी श्रीमतीले आफूलाई मानसिक यातना दिने, खान नदिने र घरबाट निकाल्ने आरोप लगाउँदै २०७९ पुस २० मा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । त्यसपछि २०७९ माघ १५ मा मिलापत्रमार्फत सम्बन्ध विच्छेद भएको देखिन्छ।

समूहले जनाएको छ कि डा. थापाले सम्बन्ध विच्छेद भएको प्रमाण आफूमाथि लागेको आरोपपछि विवाद साम्य पार्ने उद्देश्यले पार्टीमा पछि मात्रै सार्वजनिक गरेका थिए।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार, “यति गम्भीर विवाद हुँदा पनि पार्टीले उहाँलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त उदाहरण हो। यस घटनाले महिला अधिकार, सामाजिक मर्यादा र सार्वजनिक पद धारण गर्ने व्यक्तिको नैतिकतामा प्रश्न उठाएको छ। कुनै पनि राजनीतिक दलले घटनाको ढाकछोप गर्नु महिला माथिको दोहोरो हिंसा हुन सक्छ।”

“रास्वपा जस्तो नयाँ पार्टीले देशमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने अवस्थामा यस्तो व्यक्तिलाई उम्मेदवार दिएर सक्षम महिलालाई पछि पार्दै के सन्देश दिन खोजेको हो ? हाम्रो गम्भीर प्रश्न छ।”

महिला सुरक्षा दबाब समूहले निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगसँग पनि अनुसन्धानका लागि माग गरेको छ । उनीहरूले यस घटनाको कानुनी, नैतिक र लैङ्गिक मूल्यांकन गरी सार्वजनिक पदमा रहन योग्य व्यक्तिका लागि नैतिक आचरणको मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ भन्ने धारणा सार्वजनिक गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट