राप्रपा अध्यक्ष लिङ्देनद्वारा संसद विघटन र संविधान खारेजको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान संसद विघटन र संविधान खारेज गर्नुपर्नेमा जोड दिएका छन् । उनले ‘जेनजी’ आन्दोलनको आडमा उत्पन्न अराजकता र भविष्यमा देशलाई थप द्वन्द्व तथा वैदेशिक हस्तक्षेपबाट जोगाउन तत्काल कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
लिङ्देनले बुधबार आफ्नो फेसबुक पोस्टमार्फत अहिलेको अवस्थाका लागि जिम्मेवार नेतृत्वको गैरजिम्मेवार गतिविधिलाई दोष दिनुका साथै ‘जेनजी’को सहमतिमा अन्तरिम सरकार गठन गर्नुपर्ने र अन्तरिम संविधान ल्याउनुपर्ने माग गरेका छन्।
साथै, उनले आन्दोलनका क्रममा दमनकारी भूमिका खेलेका व्यक्तिहरूमाथि तत्काल कारबाही गर्नुपर्ने र २०४६ सालपछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपालको भविष्यका लागि केही महत्त्वपूर्ण व्यवस्था सुनिश्चित गर्नुपर्नेमा लिङ्देनले जोड दिएका छन्। उनका अनुसार, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुका साथै दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था हुनुपर्नेछ । राष्ट्रपतिको सट्टा अभिभावकीय संस्थाका रूपमा राजा राख्ने, पूर्ण समानुपातिक संसद स्थापना गर्ने, र सांसदहरूलाई मन्त्री बन्न रोक्ने व्यवस्थाको पनि प्रस्ताव उनले गरेका छन् ।
त्यसैगरी, लिङ्देनले प्रदेशहरू खारेज गरी केन्द्र र बलियो स्थानीय तह भएको राज्य संरचना, गैरदलीय स्थानीय तहको व्यवस्था, र न्यायालयमा पुनर्नियुक्तिको प्रक्रिया सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।
विद्यार्थी र कर्मचारी युनियनको खारेजी, सबै भ्रष्टाचारकाण्डको स्वतन्त्र छानबिन, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र, र संवैधानिक अंगहरूमा दलीय सिफारिसको सट्टा स्वतन्त्र र पारदर्शी नियुक्तिको व्यवस्था हुनु आवश्यक रहेको उनले बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस