Techie IT
२०८२ कार्तिक १८, मंगलबार

सुमनाले पार्टी छोड्नुको कारण के हो ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

पार्टी छाडेको घोषणा गर्दै उनले भनिन्, “अब खुला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, म पार्टी छाडेँ।”

पार्टी केन्द्रीय समितिलाई पठाएको जानकारीपत्रमा उनले नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै स्वीकार नगर्ने प्रवृत्ति देखाएको आरोप लगाएकी छिन्। “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबै सदस्यले बोकिदिनुपर्ने ? पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल गर्ने ? यस्तो अभ्यास स्वीकार्य छैन,” उनले प्रस्ट पारेकी छन्।

उनका अनुसार पार्टीभित्र आलोचकलाई दबाउने, दु:ख दिने र नेतालाई सर्वोच्च स्थानमा राख्ने प्रवृत्ति मौलाउँदै गएको छ। “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि नै म आलोचना गर्दै आएकी हुँ,” उनले भनिन्।

यसअघि श्रेष्ठले रास्वपाको सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यतिबेला उनले सांसद भएकै कारण पार्टीको कामका लागि समय दिन नसकेको औंल्याएकी थिइन्। समानुपातिक प्रणालीमार्फत सांसद बनेकी उनी प्रचण्ड नेतृत्वको सरकारले शिक्षामन्त्री बनाएकी थिइन्।

हालै सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा आफू मन्त्री बन्ने हल्ला चलेपछि उनले त्यसमा कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छिन्। जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी श्रेष्ठ प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा समेत उपस्थित भएकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट