Techie IT
२०८२ भाद्र ३०, सोमबार

खर्बौं मूल्यबराबरको संरचना ध्वस्त हुनु अत्यन्तै अकल्पनीय र दुःखद् - उपसभापति खड्का


जेन–जीको नेतृत्वमा भएको आन्दोलनपछि देखिएका तोडफोड र आगजनीमा खर्बौं मूल्यबराबरको संरचना ध्वस्त हुनु अत्यन्तै अकल्पनीय र दुःखद् घटना भएको नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन्।

आइतबार जारी विज्ञप्तिमा उनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा युवाहरू सहादत हुनुपर्नु र खर्बौं मूल्यको सम्पत्ति पूर्णरूपमा नष्ट हुनु गहिरो दुःखदायी भएको उल्लेख गरेका छन्। कांग्रेसले आन्दोलनकै क्रममा ज्यान गुमाउने युवाहरू तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

यस्तै, सम्पूर्ण घटनाको छानबिन तत्काल सुरु गर्न सरकारलाई पुनः स्मरण गराइएको छ। विज्ञप्तिमा भनिएको छ, “जेन–जीको भावनाविपरीत अवाञ्छित घुसपैठका कारण सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेशसभा भवनदेखि विभिन्न राजनीतिक, प्रशासनिक, व्यावसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया संस्था र निजी घरहरू समेत ध्वस्त गरिएका छन्। यो अत्यन्तै अकल्पनीय, दुःखद्, निन्दनीय र भर्त्सनायोग्य घटना हो। सरकारले क्षतिको वास्तविक आकलन प्रक्रिया अविलम्ब सुरु गर्नुपर्छ।”

त्यसैगरी कांग्रेसले पार्टीका अग्रज, नेताहरू, पार्टीका साथी तथा अन्य दलका नेतामाथि भएको भौतिक आक्रमणलाई निन्दनीय र भर्त्सनायोग्य ठहर गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको बर्बर आक्रमणको पनि कडा निन्दा र भर्त्सना गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट