जेनजी आन्दोलनमा घाइते कांग्रेस सभापति देउवाको स्वास्थ्य सुधारोन्मुख
.png)
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ।
कांग्रेस नेता डा. शेखर कोइरालाले आफू सभापति देउवाको स्वास्थ्यबारे निरन्तर अपडेटमा रहेको बताएका छन्। उनले भने, “चीन भ्रमणबाट फर्केपछि शुक्रबार र शनिबार सभापतिको स्वास्थ्यावस्था कस्तो छ भनेर जानकारी लिएको थिएँ। आइतबार पनि जानकारी लिएको छु। सभापतिजीले मलाई सम्पर्क गरेर ‘बिस्तारै ठिक हुँदैछु’ भन्नुभएको थियो।”
गत शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा आन्दोलनकारीको आक्रमणमा परेका सभापति देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको स्वास्थ्यावस्थाबारे उल्लेख गरिएको थिएन।
तर, पार्टीभित्र देउवाविरोधी गुटको नेतृत्व गर्दै आएका डा. कोइरालाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमणप्रति तीव्र आपत्ति जनाएका थिए। उनले लेखेका छन्, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास छ, उहाँमाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु। यसको जति निन्दा गरे पनि कम हुन्छ।”
तपाईको प्रतिक्रिया दिनुहोस