एमालेले चुनावको पक्षमा उभिने संकेत, निर्धारित मितिमै चुनाव होस् - महासचिव पोखरेल

नेकपा (एमाले) ले जेन–जी प्रदर्शनको बीचमा पनि चुनावको पक्षमा उभिने संकेत दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
पोखरेलले भने, “यो सरकार अन्तरिम भएकाले कर्तव्य चुनाव गराउने हो। शान्ति सुरक्षाको वातावरण तयार गरी समयमा निर्वाचन गरिनु आवश्यक छ। नेपालका सबै लोकतान्त्रिक पार्टीहरूले जनतामा गएर जनताको अभिमत प्राप्त गर्नुपर्छ। सडक सधैँ जनमत प्राप्त गर्ने माध्यम हुन सक्दैन।”
उनले थपे, “एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि त्यसको आधार संविधानलाई बनाएनौं भने मुलुक कहिले पनि समृद्धि र विकासको यात्रामा अघि बढ्न सक्दैन। समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव छैन।”
पोखरेलले भदौ २४ गतेको प्रदर्शनले पार्टी कार्यालयसहित नेता–कार्यकर्ताको भौतिक सम्पत्तिमा क्षति पुगेको जानकारी दिँदै, यसपटक एमालेले संविधान दिवस पार्टी कार्यालयमा मनाउने बताए।
उनका अनुसार, “हामी क्षतिग्रस्त संरचनाको खरानीमा उभिएर संविधान सभाले संविधान बनाउँदाको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौं । ७७ जिल्लाका साथीहरूलाई निर्देशन जारी गरिसकेका छौं । काठमाडौं उपत्यकाका साथीहरूले पार्टी कार्यालयमा संविधान दिवसको आयोजना गर्नेछन् ।”
तपाईको प्रतिक्रिया दिनुहोस