जेन–जी आन्दोलनको आडमा दल र उपलब्धि कमजोर बनाउने प्रयास भइरहेको छ - प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन–जेड आन्दोलनको नाममा राजनीतिक दल र उपलब्धिहरू कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्।
बिहीबार गणेशमान सिंहको २८औँ स्मृति दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता सिंहले भने, “हाम्रो जिम्मेवारी प्राप्त अधिकारलाई सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नु हो। अहिलेको जुन जेन–जेड आन्दोलन भयो, विराटनगरमा कोइराला निवास जल्यो, काठमाडौँको चाक्सीबारी र कृष्णप्रसाद भट्टराईको आश्रम जल्यो। यसले देखाउँछ कि आन्दोलनको आडमा दल र उनीहरूले गरेको योगदानलाई मेटाउन दुष्प्रयास भइरहेको छ। यसबारे छानबिन गर्न र अलोकतान्त्रिक प्रक्रियामार्फत खेल्न खोज्नेहरूमाथि सरकार सतर्क हुनुपर्छ।”
नेता सिंहले लोकतान्त्रिक पद्धतिमा जनताको असन्तुष्ट विषयमा सुधार गर्दै राजनीतिक दलहरूले अघि बढ्नुपर्ने बताएका छन् । “अहिलेको परिस्थितिबाट देशलाई माथि उठाउन अबका दिनमा नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नेछ। आन्दोलनले जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश दिएको छ,” उनले भने।
सिंहले जेन–जेडको आवरणमा अपराधीहरूले तोडफोड र आगजनी गरेको आरोप लगाउँदै निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्। “गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वका रूपमा लिने गरिन्थ्यो, तर अहिले यसलाई आगजनी र तोडफोड गरी नष्ट पारिएकोमा चिन्ता छ। जेन–जेडले इतिहास मेटाउन आन्दोलन गरेको होइन, तर केही आपराधिक तत्वले यस्तो क्रियाकलाप गरेको देखिन्छ,” उनले भने।
सिंहले २०४६ सालको परिवर्तनमा चाक्सीबारीले खेलेको भूमिका, कृष्णप्रसाद भट्टराईको आश्रम र विराटनगरको कोइराला निवास जलाइएकोमा दुःख व्यक्त गरे। उनले विधिको शासन कायम राख्ने उद्देश्यका लागि आगजनी र तोडफोड गर्नेहरूलाई प्रमाणसहित कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए।
सिंहले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका थिए । “समयको मागअनुसार दलले आफूलाई संस्थागत गरेर अघि बढ्नुपर्छ। शून्य अवस्थामा कसैले केही गर्न सक्दैन,” उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस