जेनजी विद्रोहपश्चात पार्टी विघटनको अवस्थामा पुग्यो - उपमहासचिव प्रभाकर

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बिहीबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा जेनजी विद्रोहपश्चात पार्टी विघटनको अवस्थामा पुगेको निष्कर्षसहितको प्रतिवेदन पेश गरेका छन्।
प्रतिवेदनमा उनले पार्टीको भ्रष्टाचार, नेतृत्व हस्तान्तरण, राष्ट्रियताको रक्षा लगायतका विषयमा केन्द्रित भएर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्।
शर्माले पार्टी केन्द्रीय कार्यालयमा भएको आगजनी र हेडक्वार्टर जलिरहँदा कोही प्रतिवाद गर्न नसक्नुले आधारभूत वर्गसँग पार्टीको सम्बन्धमा रिस पैदा गरेको उल्लेख गरेका छन्। यसले राज्य र पार्टी दुवै विहीनताको अवस्था सिर्जना गरेको र पार्टी विघटित जस्तै भएको उनको निष्कर्ष रहेको छ।
शर्माले प्रतिवेदनमा उल्लेख गरे– “हाम्रो पार्टी यतिबेला विघटिन प्रायः छ। पार्टी केन्द्रीय कार्यालय आगजनी भएको छ। आन्दोलनले निम्त्याउने सम्भावित खतराको पूर्वआकलन गर्न नसक्नु, लाखौं पार्टी सदस्य र नेतृत्वको ठूलो संरचना हुँदाहुँदै पार्टी हेडक्वार्टर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्नु, आफैंलाई बचाउने क्षमता नहुनु, आधारभूत वर्ग हाम्रो पक्षमा असन्तुष्ट भएको वास्तविकता देखाउँछ।”
उपमहासचिव शर्माले देशमा विकसित घटनाक्रमको विश्लेषण गर्दै पार्टी विघटित जस्तै भएको पाँच आधार प्रस्तुत गरेका छन्। उनले भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारवादका कारणले देशको प्रगति रोकिएको निष्कर्ष प्रस्तुत गरेका छन्।
शर्माले दशकौंसम्म निश्चित व्यक्तिको हातमा राजनीतिलाई सीमित राख्दा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस सतहमा आएको पनि उल्लेख गरेका छन्। साथै, नयाँ सपना र क्षमता बोकेको युवा पुस्ता जेनजीलाई चौथो आधार बनाएर पार्टी पुनर्गठन गर्नुपर्ने एजेन्डा अघि सारेका छन्।
उपमहासचिव शर्माले सबै तहमा नेतृत्व निर्माण प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत् हुनुपर्ने र महाधिवेशनसम्म पार्टी सञ्चालनका लागि पदाधिकारी वा स्थायी कमिटी सदस्यलाई जिम्मेवारी दिन डराउन नहुने बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस