ओलीको राहदानी रोक्का प्रति एमालेको कडा आपत्ति
नेकपा (एमाले) ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्न सिफारिस गरिएको निर्णयप्रति आपत्ति जनाएको छ।
आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै भने, “अध्यक्ष ओलीसहितको राहदानी रोक्का सिफारिससम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर दसैंको मौका पारेर गरिएको यो राजनीतिक प्रतिशोधपूर्ण कदमप्रति केन्द्रीय सचिवालयले गम्भीर आपत्ति प्रकट गर्दछ।”
भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ। आयोगको सिफारिसमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजालको नाम पनि समावेश छ।
ज्ञवालीले यस्तो कदमले जाँचबुझ आयोगको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न खडा गरेको टिप्पणी गरेका छन् । “यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस