सरकारविरुद्ध आक्रामक एमालेको अबको रणनीति के छ?

नेकपा (एमाले) सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएको छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न दबाब दिँदै जेनजीले प्रहरीमा जाहेरी दिएपछि एमाले त्यसको प्रतिकारमा उत्रिएको हो।
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिइसकेको छ। आज बिहीबार मात्रै एमाले भक्तपुर जिल्ला कमिटीले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी सरकारविरुद्ध प्रहार गरेको थियो।
भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक नभएको ठहर गरेका छन् । जेनजी आन्दोलनपछि दोस्रोपटक सार्वजनिक मञ्चमा उभिएका उनले सरकारविरुद्ध तीव्र असन्तुष्टि व्यक्त गरे र आफूमाथि उठिरहेका प्रश्नहरूको कडा जवाफ पनि फर्काए।
“यो कसैको प्रतिनिधि होइन, नेपालीको चाहिँ होइन,” ओलीले भने, “कसैले छानेको सरकार होइन यो। कुनै खास उद्देश्यका लागि काम भइरहेको छ।”
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले उपत्यका बाहिर जान रोक लगाएको थियो। राहदानी रोक्का गर्ने निर्णयप्रति ओली आक्रोशित भएका छन् । “सुशीला कार्कीको डरले केपी ओली भाग्छ भनेर राति–राति बैठक बस्नेहरूलाई के म भाग्छ जस्तो लाग्यो?” उनले व्यङ्ग्य गरे।
ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘बाबु’ सम्बोधन गर्दै, राजनीति ख्यालठट्टा होइन भनेर सचेत गराएका छन् ।
गृहमन्त्री भएपछि मात्रै नाम थाहा पाएँको सुनदाउँदै ओलीले धेरै नउत्ताउलिनु, नचम्किनु, सम्हालिनु बाबु भनेका थिए । उनले भने, “देश चलाउने कुरा मजाक होइन, गम्भीर रूपमा बुझ्नुपर्छ।”
ओलीले गृहमन्त्रीले नै आफूलाई पक्राउ गर्न जाहेरी दिन लगाएको आरोप लगाए र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न चुनौती पनि दिएका छन् ।
“१० पल्ट सम्पत्ति छानबिन गर्नुस्, म तयार छु,” उनले भने, “मन्त्रीहरूले आफ्नै सम्पत्ति छानबिन गराउने आँट गर्न सक्छन्?” आज एमालेले जेनजी आन्दोलनका घटनाबारे गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने सार्वजनिक रुपमै घोषणा गरेको छ।
“पहिले नै ‘केपी ओलीलाई समाउनुपर्छ’ भन्नेहरूको आयोग बनाइयो । अब त्यसैको नाटक मञ्चन भइरहेको छ,” ओलीले आरोप लगाए।
उनका अनुसार प्रमाणका आधारमा नैतिक जिम्मेवारी लिनुको सट्टा आयोग अध्यक्ष लुसुलुसु अघि बढिरहेका छन्। “प्रतिवेदन ल्याउनुहोस्, बुझाउनुहोस् तर एमालेलाई मान्य हुँदैन,” उनले चेतावनी दिए।
एमालेले फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनबारे पनि शंका व्यक्त गरेको छ। महासचिव शंकर पोखरेलले सरकार तत्कालीन राजा ज्ञानेन्द्र शाहको शैलीमा चुनाव गर्न खोजिरहेको आरोप लगाएका छन् । “राजनीतिक दलहरूको विश्वास जित्ने होइन, तिनलाई किनारा लगाएर चुनाव गराउने तयारी हुँदैछ,” उनले भने।
पोखरेलका अनुसार अँध्यारो कोठामा बसेर ‘भूमिगत गिरोह’मार्फत चुनाव जिताउने योजनासमेत बन्न थालेका छन्। ओलीले पनि सरकार चुनावको म्यान्डेट लिएर आएका होइनन् भन्दै राजनीतिक दलमाथि दमन गरेर चुनाव सम्भव नहुने चेतावनी दिएका छन् । “राजनीतिक दलसँग संवाद नगरी पौठेजोरी खेलेर चुनाव हुँदैन,” उनले भने।
एमालेले भदौ २८ गते गरिएको संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै पुनर्स्थापनाको माग गरेको छ। “देशलाई सही बाटोमा फर्काउन संसद् फिर्ता गर्नुबाहेक विकल्प छैन,” ओलीले भने। “संसद् विघटन गैरकानुनी, गलत र अलोकतान्त्रिक छ,” ओलीले दोहोर्याए।
पार्टीभित्र पुनर्गठनको माग उठिरहेका बेला महासचिव पोखरेलले सडकमा तमासा नदेखाउन चेतावनी दिएका छन् । “जो योग्य छन्, उनीहरूले महाधिवेशनमा कार्यकर्ताको विश्वास जित्ने हो। सडकमा कराएर होइन,” उनले भने।
एमालेले सरकारको ‘प्रतिशोधात्मक कदम’को विरोधस्वरूप शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। असोज २५ गते काठमाडौंमा मोटरसाइकल र्याली निकाल्ने निर्णय भएको पोलिटब्युरो सदस्य महेश बस्नेतले जनाएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस