जेनजीलाई मन्त्री पुनको आग्रह : “गुटबन्दी र खुट्टा तानातान नगर्नुहोस्”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्तालाई गुटबन्दी र खुट्टा तानातानबाट टाढा रहन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रवृत्तिले देश र समाजलाई अझ ठूलो नोक्सान पुर्याउने चेतावनी दिएका छन्।
नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन र त्यस क्रममा देखा परेका समस्याहरूको उदाहरण दिँदै मन्त्री पुनले इतिहासबाट पाठ सिक्न युवापुस्तालाई आह्वान गरेका छन्।
उनले लेखेका छन् —
“इतिहास हेरेर जेनजीहरूले पाठ सिक्न आवश्यक छ। तपाईंहरू एउटा निश्चित उमेरको युवापुस्ता हुनुहुन्छ, जसको कुनै औपचारिक राजनीतिक संगठन छैन। तपाईंहरूले देशमा सुशासन ल्याउन, भ्रष्टाचार अन्त्य गर्न र नेपाललाई समृद्ध बनाउने सपना देख्नुभएको छ। तर यो सपना साकार पार्नका लागि तपाईंहरूमा एकताको खाँचो छ, किनभने तपाईंहरूबीच पनि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ।”
मन्त्री पुनले मातृभूमिको अस्तित्व र राष्ट्रिय एकताको हितका लागि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास दोहोर्यिन नदिन पनि सबैलाई आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस