जेनजी आन्दोलनका दोषीमाथि कारबाहीमा दुविधा नराख्न मन्त्री खरेलको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न कुनै दुविधा नराख्न आग्रह गरेका छन्।
आइतबार सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा सञ्चारकर्मीसँगको छलफलमा उनले जेनजी आन्दोलनमा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्री खरेलले आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने जिकिर गर्दै सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। उनका अनुसार, दलहरूबीचको संवादहीनता अन्त्य भइसकेकाले अब मुलुक निर्वाचनमुखी बाटोमा अगाडि बढिसकेको छ।
उनले वर्तमान सरकारको आगामी ६ महिनाभित्र सुशासन र भ्रष्टाचार नियन्त्रणका ठोस पहल जनताले अनुभव गर्ने दाबी गरे। साथै, मुलुक अझै पनि राजनीतिक जोखिम (भ्याकुम) मा पर्न सक्ने सम्भावना रहेकाले देशलाई सही दिशामा राख्न सबै राजनीतिक शक्ति गम्भीर हुनुपर्नेमा जोड दिए।
मन्त्री खरेलले अनलाइन सञ्चार माध्यमहरूको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत सम्भवतः तिहारअघि नै सुरु हुने जानकारी दिए। साथै, पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन मन्त्रालयले गृहकार्य गरिरहेको पनि बताए।
तपाईको प्रतिक्रिया दिनुहोस