गगन थापाका अभिव्यक्तिले पार्टी कमजोर बन्छ - प्रवक्ता डा. प्रकाशशरण

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापाको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
जेनजी विद्रोहपछि नेतृत्व परिवर्तनको पक्षमा रहेका थापाले हालै सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राजनीतिबाट बिदा लिनुपर्ने अभिव्यक्ति दिएका थिए।
प्रवक्ता महतका अनुसार, विधानको व्यवस्थालाई ध्यानमा राख्दै सभापति देउवाले पार्टी एकतालाई बलियो बनाउँदै महाधिवेशनको तयारी गरिरहेका बेला यस्तो अभिव्यक्तिले पार्टीलाई कमजोर बनाउने खतरा बढाएको छ।
उनले भने, “कुनै पनि माध्यमबाट नयाँ नेतृत्व आउनुपर्छ भन्ने बहसमा बढी केन्द्रित हुँदा पार्टीलाई एकताबद्ध गरेर अघि बढाउने विषय ओझेलमा परिरहेको छ।”
महतले अहिलेको अवस्थामा पार्टीको एकता नै सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भने, “सभापतिले कार्यवाहक तोकेर आगामी महाधिवेशनमा सभापति नउठ्ने घोषणा गरिसक्दा पनि नेतृत्वको बहस निरर्थक छ।”
केन्द्रीय समिति बैठकपछि महामन्त्री थापालाई लक्षित गर्दै प्रवक्ता महतले भने :
सिङ्गो पार्टीमाथि आक्रमण भएको छ, यस्तो बेलामा कुनै पनि माध्यमबाट आफू नेतृत्वमा आउनुपर्छ, भन्ने कुरामा हाम्रो ध्यान गयो। त्यसले पार्टीलाई एकताबद्ध बनाएर लाने कुरामा पनि समस्या ल्याएको छ, महाधिवेशन जतिसक्दो चाँडो गर्ने कुरामा दुई मत छैन गरौँला पनि।
तर नेतृत्व तहबाटै तीन जना नेताहरू अब नेतृत्वमा रहनुहुँदैन भन्ने कुरा गर्नुहुन्छ, अरू पार्टीको जिम्मा हामीले किन लिने ? हाम्रो पार्टीका सभापतिले अब हुन्न भनिराख्नुभएको छ, आज उहाँले फेरि दोहोर्याउनुभयो। कार्यवाहक पनि तोक्नुभएको छ।
चाँडै महाधिवेशन गर्ने कुरा पनि छ। त्यो कुरा सबैलाई थाहा छ, थाहा हुँदा पनि तीन जनालाई नहटाई कन भन्ने ? अरू पार्टीको कुरा अरूले जिम्मा लिन्छन् नि। हाम्रो पार्टी सभापतिले हुन्न स्पष्ट भनिसक्नुभयो। फेरि त्यही कुरा गरेर पार्टी एकताबद्ध बनाउनको लागि के हो ? भन्ने प्रश्न उठेको छ।
यस्तै, पार्टीको भातृ संस्थामा लामो समयदेखि देखिएको समस्यालाई केन्द्रीय समितिले समाधान गर्ने विश्वास व्यक्त गरे।
निर्वाचनका बारेमा अन्योल र अस्थिरता बढ्दै गए निर्वाचन हुन नसक्ने भएकाले संसद् पुनर्स्थापनाको बाटोलाई बन्द नगरेको जिकिर गरे। वर्तमान सरकार निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि प्रतिशोध साँध्न केन्द्रित भएको आरोप लगाए।
तपाईको प्रतिक्रिया दिनुहोस