Techie IT
२०८२ असोज ३१, शुक्रबार

देउवा दम्पत्ती लाई विदेश जान नरोकिने, सरकारको रणनीतिमा फेरबदल


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई उपचारका लागि विदेश जान रोक्ने सरकारको तयारीमा अहिले ब्रेक लागेको छ।

जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवाको घरमा ठूलो मात्रामा रकम जलेको अवस्थामा भेटिएको भन्दै सरकारले उनलाई विदेश जान रोक्ने तयारी अघि बढाएको थियो। सरकारी संयन्त्रहरूले यसबारे गृहकार्य समेत गरेका थिए।

तर, पछिल्लो समय अनुसन्धान गर्ने संयन्त्रहरूले पर्याप्त आधार–प्रमाण नदेखिएको निष्कर्ष दिएपछि सरकारको तयारी रोकिएको हो। एक मन्त्रीका अनुसार राज्यका संयन्त्रहरूले अहिलेसम्म कुनै परिपत्र गरेका छैनन्। अहिले नै रोक्ने पर्याप्त कारण देखिएको छैन ।

सरकारका अनुसार देउवा आन्दोलन दमनमा प्रत्यक्ष संलग्न नभएकाले उनलाई राजनीतिक अभियोगमा रोक्न सकिने आधार पनि छैन। साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि बुढानिलकण्ठस्थित निवासमा भेटिएका प्रमाण देउवालाई विदेश यात्रा प्रतिबन्ध लगाउने स्तरका नभएको निष्कर्ष दिएको छ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजाललाई विदेश जान रोक लगाएको थियो।

तर देउवा दम्पतीको हकमा भने कुनै संयन्त्रले यस्तो सिफारिस गरेको छैन। अध्यागमन स्रोतका अनुसार उनीहरूको नाममा विदेश यात्रा रोक्का सम्बन्धी कुनै निर्देशन आएको छैन।

गृहमन्त्रीले जनदबाबका कारण केही समय रोक्न सुझाव दिए पनि अन्य निकायले पर्याप्त प्रमाण नभएको भन्दै अहिलेलाई “कानुन बमोजिम गर्नू” भनिएको छ।

देउवा दम्पती उपचारका लागि विगतमा पटक–पटक विदेश गइरहने गरेका छन्। अहिले पनि उनीहरू स्वास्थ्य उपचारकै कारण विदेश जान तयारीमा रहेको बताइएको छ।

यसअघि राजावादी आन्दोलनको हिंसात्मक घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि उपचारका लागि हिरासतबाट मुक्त गरिएकाले स्वास्थ्य उपचारका आधारमा विदेश जान नरोकिने सम्भावना बलियो भएको स्रोतले जनाएको छ।

देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान भने निरन्तर भइरहेको छ। असोज ५ गते विभागको टोलीले बुढानिलकण्ठस्थित देउवाको निवासमा पुगेर मुचुल्का तयार पारेको थियो।

त्यस क्रममा जलेको घरभित्र डलर र नेपाली नोटका जलेका टुक्रा भेटिएका थिए। यद्यपि कति रकम थियो भन्ने कुरा अझै पुष्टि हुन सकेको छैन। अनुसन्धान अधिकारीका अनुसार यो विषय अत्यन्त जटिल बनेको छ।

यसैबीच, सीआईबीले असोज १३ गते देउवाका सालो भूषण राणाको जावलाखेलस्थित घरमा पनि छापा मारेको थियो। केही कागजात बरामद भए पनि ठोस प्रमाण फेला परेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट