एमालेमा नेतृत्व हस्तान्तरणको माग : ओलीविरुद्ध आवाज बढ्दो

नेकपा (एमाले) का नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषयलाई जोडका साथ उठाएका छन्। बिहीबार ललितपुरको धोबीघाटस्थित रामबाग महलमा जारी केन्द्रीय कमिटी बैठकमा धेरै नेताहरूले ओलीले राजीनामा दिएर नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखे।
केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले ओलीलाई देश र पार्टी दुवैको नेतृत्व गर्न असक्षम भएको आरोप लगाउँदै राजीनामा दिन सुझाव दिएका थिए । ‘दुई तिहाइको सरकार चलाउने प्रधानमन्त्रीलाई अन्ततः हेलिकोप्टर चढेर भाग्नुपर्यो, त्यो असफलता होइन त?’ उनले प्रश्न गरे, ‘अब पार्टीमा पनि नयाँ नेतृत्व आउनै पर्छ।’
रविन कोइराला, केशव पाण्डे, कृष्णभक्त पोखरेल, ममता गिरी, ठम्मर विष्ट, रचना खड्का, टंक कार्की, युवराज बास्कोटा लगायत २३ भन्दा बढी केन्द्रीय सदस्यले पार्टी पुनर्संरचना र नेतृत्व हस्तान्तरणको माग गरेका छन् । बिहीबार मात्रै १४६ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ओलीको राजीनामा मागेका छन् ।
एक नेताका अनुसार, “कतिपयले सिधै, कतिपयले परोक्ष रूपमा ओलीलाई पद छोड्न आग्रह गरेका छन्। भ्रष्टाचार नियन्त्रणमा असफलता र जनतासँगको दूरी नै मुख्य आलोचनाका बिन्दु बनिरहेको छ ।”
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपाध्यक्ष भीम रावललाई पुनः सक्रिय बनाउनुपर्ने आवाज पनि बलियो रूपमा उठेको छ।
झपट रावल, गणेश पहाडी, रचना खड्का, ममता गिरीलगायत ३० जना भन्दा बढी नेताले भण्डारीको सदस्यता नवीकरण गरी पार्टीमा फर्काउनुपर्ने प्रस्ताव राखेका थिए ।
“पूर्वराष्ट्रपति भण्डारीलाई बाहिर राखेर एमालेभित्र सुदृढ एकता सम्भव छैन,” नेतृ शर्मिला कार्कीले भनिन्।
यस्तै, झपट रावलले भने, “भीम रावल जबजको भट्टीमा खारिएका नेता हुन्। उहाँको कारबाही फुकुवा हुनुपर्छ।”
अध्यक्ष ओलीले बैठकमा १५ बुँदे राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने मिति प्रस्ताव गरेका छन्। उनले महाधिवेशनमार्फत् नै नेतृत्व र पुनर्संरचनाको निर्णय गर्नुपर्ने बताइरहेका छन् । तर, केही नेताहरूले यसलाई “राजीनामा माग दबाउन बनाइएको रणनीति” का रुपमा लिएका छन् ।
बैठकमा केही नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापना मात्र नभई नयाँ निर्वाचनको तयारी गर्न सुझाव पनि दिएका थिए ।
राजेन्द्र राई, राजकुमार लेखी र मीना गुरुङलगायत नेताहरूले सबै दलको सहमति जुटाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अहिलेसम्म १९० जनाले धारणा राखेका छन्। बैठक आज शुक्रबार सकिने छ । अन्तिम दिन अध्यक्ष ओलीले उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
तपाईको प्रतिक्रिया दिनुहोस