प्रधानमन्त्रीसँगको संवादमा माओवादी केन्द्रको आग्रह : “भयरहित र स्वच्छ निर्वाचन सुनिश्चित गरियोस्”

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार डाकेको राजनीतिक संवादमा नेकपा (माओवादी केन्द्र) ले आफूहरू आगामी निर्वाचनमा सहभागी हुन तयार रहेको बताउँदै त्यसका लागि आवश्यक वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका थिए।
पार्टी सचिवालय सदस्य वर्षमान पुनका अनुसार, सरकारले निर्वाचनका लागि भयरहित वातावरण बनाउन पर्याप्त ध्यान नदिएको भन्दै तत्काल ठोस कदम चाल्नुपर्ने माग गरिएको छ।
उनले भने, “सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने भए पनि पर्याप्त ध्यान पुगेको छैन, त्यसका लागि तुरुन्त आवश्यक कदम चालिनुपर्छ।”
माओवादी केन्द्रले पहिले नै निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको जनाउँदै पुनले मतदाता नामावली अद्यावधिक गर्न पार्टीले निर्देशन जारी गरिसकेको जानकारी दिए।
त्यस्तै, पार्टीले घोषित मितिमा धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा राखेको थियो।
माओवादी केन्द्रले निर्वाचन केन्द्रित अभियान सुरू गरिसकेको बताउँदै नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूलाई पनि त्यस दिशामा तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस