एक साताभित्र माओवादी र समाजवादीबीच पार्टी एकता घोषणा गर्ने तयारी
मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहनेछ भने एकीकृत पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद हुने
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको दुवै पक्षका नेताहरूले दाबी गरेका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको अन्तिम मिति कात्तिक ३० गते अघि नै एकता टुंग्याउने गरी प्रक्रिया तीव्र गतिमा अघि बढाइएको उनीहरूको भनाइ छ।
पार्टी एकतासम्बन्धी अन्तिम निर्णयका लागि माओवादी केन्द्रले शनिबार वा आइतबार महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाउने तयारी गरेको छ। सब ठिक चले एक हप्ताभित्रै एकीकृत समाजवादीसहितको एकता घोषणा हुने आकलन गरिएको छ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार एकता प्रक्रिया निकै अगाडि बढिसकेको छ। उनका भनाइमा, “कात्तिक ३० गतेभित्र दल दर्ता गर्नुपर्ने बाध्यता भएकाले छलफल तीव्र गतिमा भइरहेको छ। वैचारिक र सैद्धान्तिक विषयमा कुनै विवाद छैन। एकतापछि पार्टी बहुपदीय नहुने सहमति भइसकेको छ।
विप्लवसँग तत्काल एकता सम्भावना कमजोर
दुवै पक्षका नेताहरूका अनुसार नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) हाल नयाँ कम्युनिस्ट केन्द्र निर्माणमा लागेको कारण तत्काल एकतामा सहभागी नहुने सम्भावना छ। विप्लवले पछिल्लो केन्द्रीय बैठकमा आफ्नै नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्ने प्रस्ताव अघि सारेका थिए।
एक नेताले भने, “विप्लवजी अहिले आफ्नै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र निर्माणमा केन्द्रित हुनुहुन्छ, त्यसैले तत्काल एकता हुने देखिँदैन। तर आगामी घोषणा सम्ममा अन्य घटकहरू पनि जोडिन सक्ने सम्भावना छ।”
एकीकृत समाजवादीका वरिष्ठ नेता तथा वार्ता संयोजक डा. वेदुराम भुसालले माओवादीसहित विभिन्न वाम घटकसँग एकता गर्ने निर्णय पार्टीले गरिसकेको बताए। उनका अनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहनेछ भने एकीकृत पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद हुनेछ।
भुसालले भने, “माओवादीले माओवाद छोडेर मार्क्सवाद–लेनिनवाद अंगीकार गर्ने, हामीले जबज (जनताको बहुदलीय जनवाद) त्याग्ने सहमति भइसकेको छ। पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्नेमा पनि लगभग सहमति भएको छ।” पहिले नेकपा समाजवादी केन्द्र” नाम पनि प्रस्तावमा आएको थियो, तर छोटकरी ‘सके’ हुने भएकाले त्यसलाई त्यागिएको छ।
उनका अनुसार, एकता घोषणा महाधिवेशन नभई राष्ट्रिय सम्मेलनमार्फत हुनेछ। डा.भुसालले एकताको विपक्षमा देखिएका घनश्याम भुसाल र झलनाथ खनालसँग निरन्तर छलफल भइरहेको बताएका छन् ।
खनाल भारतमा उपचाररत भए पनि अध्यक्ष माधव नेपालसँगको कुराकानीपछि सकारात्मक देखिएको उनको दाबी छ। तर खनाल निकट स्रोतका अनुसार, “झलनाथ खनालले एकतामा नजाने स्पष्ट पारिसक्नु भएको छ। अहिले भइरहेको प्रचार षड्यन्त्रपूर्ण मात्र हो,” भन्ने प्रतिक्रिया आएको छ।
त्यस्तै, घनश्याम भुसाल पक्षका नेताहरूले नेतृत्वले स्पष्ट जवाफ नदिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार, “पार्टी पुनर्गठनको लागि शीर्ष नेताहरूले राजीनामा गरेर नयाँ ढाँचा बनाउनुपर्ने हाम्रो न्यूनतम सर्त हो।”
दुवै पक्षबीच अब सिद्धान्त, नीति, र मार्गदर्शनको विषयमा सहमति भइसकेको बताइएको छ।
पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, नीति नेपाली विशेषतासहितको समाजवाद, र संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहनेछ।
नेतृत्व टुंग्याउने जिम्मा प्रचण्ड–माधवलाई
वार्ता टोलीका एक सदस्यका अनुसार अब मुख्य विमति नेतृत्वको मोडालिटीमा मात्र छ। उनका अनुसार, “प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक हुने प्रस्तावमा छलफल भइरहेको छ। दुई अध्यक्षको मोडालिटी पहिले असफल भएकाले त्यसतर्फ नजाने सहमति बनेको छ।”
अन्तिम टुंगोका लागि नेतृत्व मिलाउन जिम्मा दुवै शीर्ष नेता प्रचण्ड र माधवकुमार नेपाललाई दिइएको छ।
पार्टीको चुनाव चिन्हबारे भने सहमति भइसकेको छैन। नेकपा (एकीकृत समाजवादी) पक्षले कलम चिन्ह यथावत् राख्ने चाहना जनाएको छ भने माओवादी पक्षले नयाँ चिन्ह खोज्ने प्रस्ताव गरेको छ। तर नेताहरूका अनुसार, “यो विषयमा पनि ठूलो विवाद छैन, अन्ततः सहमति बन्नेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस