अब देश सम्हाल्ने जिम्मा माओवादीकै हो - प्रचण्ड
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्था र जिम्मेवारी माओवादीले सम्हाल्ने समय आएको बताएका छन्।
गोरखामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले उठाएका मुद्दा र देशको समग्र अवस्थालाई व्यवस्थापन गर्ने जिम्मा माओवादीको भएको बताए।
उनका अनुसार पार्टीले अहिले देशभर संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ। ‘हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँ–गाउँसम्म कार्यक्रम गरिरहेको छ,’ उनले भने, ‘आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै अघि आउनुपर्छ भन्ने विश्वास व्यक्त गरिरहेका छन्।’
चुनावको सन्दर्भमा प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरेका छन् । ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो,’ उनले भने, ‘सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न अब उठ्दैन, चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन।’
त्यस अवसरमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो केन्द्रीय समितिले पार्टीभित्रका एकता–विरोधी र नेतृत्व–विरोधी प्रवृत्तिलाई परास्त गरेको छ,’ उनले भने, ‘विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।’



तपाईको प्रतिक्रिया दिनुहोस